February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सिद्धि पहिरो : डेढ महिना बित्यो, सरकारी सहयोग शून्य

August 20, 2021

दाताको बाटो हेर्दे दिन बिताउँदै बाढी पीडित
सिद्धि / चितवनको कालिका नगरपालिका वडा नं. १० र ११ सिद्धिका चेपाङलाई बाढी पहिरोले घरबारविहीन बनाएको डेढ महिना बित्यो । यस क्षेत्रका १५ घरधुरी पूर्णरूपमा प्रभावित बने । तर, सरकारी क्षेत्रबाट अहिलेसम्म गास, बास र कपासको व्यवस्था हुन सकेको छैन, जसले गर्दा यहाँका बाढी–पहिरोबाट प्रभावित बनेका चेपाङहरू दाताको बाटो हेरिरहेका छन् । सरकारी क्षेत्रबाट तीनै तहको सरकारले भौतिक उपस्थिति देखाएर आश्वासन दिलाए पनि त्यसपछि कुनै पनि नेता फर्केर नआएको कालिका ११ सिद्धि कामिमाङकी सानुमाया चेपाङ बताउँछिन् । सानुमायाको परिवारलाई अहिले घरबास उठेको भन्दा पनि हिउँद लागेपछि के खाने भन्ने चिन्ता छ ।
खोला किनारमा रहेको खेतबारी रोपाइँ सकिएकै भोलिपल्ट आएको बाढीले बगर बनाइदिएपछि उनको परिवारमा थप अनिकालको चिन्ता छाएको हो । गत असार १७ गते बिहान मझवाङ र लालिवाङ खोलामा आएको भीषण बाढीले घरखेत बगाएर सुकुम्बासीमा परिणत गरिदिएपछि अहिले कामिमाङ डाँडाको डिलमा थोत्रा टिनको अस्थायी टहरो हालेर बसिरहेको छ । सानुमायासँगै छोराहरू भीमलाल, श्यामलाल र सोमनाथ पनि सोही दिनको बाढीले घरबार विहीन बनेका छन् । तीनभाइ छोरासहित सानुमायाको करिब एक विगाह खेतीयोग्य जमिन थियो ।


आठ वर्षअघि पनि बाढीले उठिवास लगाएपछि सानुमायाको परिवार होइलिङबाट कामिमाङ झरेको थियो । तर, यहाँ पनि लामो समय बस्न नपाएपछि अब कहाँ जाने र कसरी जिन्दगी कटाउने भन्ने ठूलो चिन्ता छ ।
कालिका १० सिद्धि तीनदोभानका बुद्धिराम चेपाङ अहिले पनि छिमेकीको सहारामा बसिरहेका छन् । हप्ता÷दस दिनपछि मकै खाने बेला हुन्थ्यो । घर वरिपरि नै करिब एक विगाह ऐलानी जग्गा थियो । तर, आधा घण्टाको बाढीले बगर बनाइदिएपछि बुद्धिरामको परिवारलाई पनि छिमेकीको बाख्रा खोर समातेर बस्न बाध्य बनायो । उनी पनि करिब १५ वर्ष पहिले मझवाङबाट तीनदोभान झरेका हुन् । बाढी पीडित बनेको डेढ महिना बित्न लाग्दा पनि सरकारी निकायबाट कुनै पनि कार्यक्रम नआउँदा आफूलाई यो देशको अनागरिक महसुर गराएको उनले गुनासो गरे ।
बाढीले बगाएको तीन दिनपछि नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ अनुगमनका लागि आएका थिए । त्यसको करिब एक हप्तापछि पालैपालो प्रदेशमन्त्री दावादोर्जे लामा र मुख्यमन्त्री डोरमणि पौडेलले पनि अनुगमन गरेर फर्किए । त्यतिमात्र होइन, प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेलले पनि स्थलगत अनुगमन गरेर फर्किए । तर, अहिलेसम्म आश्वासनबाहेक केही नपाएको स्थानीयको गुनासो छ । केही निजी क्षेत्र र दाताहरूले दिएको सहयोगको भरमा साँझ–बिहानको गुजारा चलाइरहेको बुद्धिराम बताउँछन् । ‘मनकारी दाताहरू नभएको भए भोकै मर्नुपर्ने रहेछ,’ उनले भने । यस्तो बेलामा पनि नहेर्ने सरकार अरूबेलामा आवश्यक नहुने भन्दै उनले आक्रोश पोखे ।

- ADVERTISEMENT -