April 25, 2025

२८६ जनाको पारिवारिक पुनर्मिलन : मानव सेवा आश्रम

December 6, 2021
- ADVERTISEMENT -

चितवन / मानव सेवा आश्रम चितवन शाखाले २८६ जनालाई पारिवारिक पुनर्मिलन गरिएको जनाएको छ । विसं २०७२ माघमा स्थापना भएको यस संस्थाले हालसम्म ६५९ जनालाई सेवा प्रदान गरेकामा उनीहरुमध्ये उक्त संख्यामा पारिवारिक मिलन गराएको हो ।
आश्रममा आएर उपचारपश्चात् १९२ जनाले स्वेच्छाले आश्रम छाडेका छन् भने ९३ जनाको निधन भएको सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । सामुदायिक पुनःस्थापना भएका ५२ जना छन् ।
हाल आश्रममा ६५ जना आश्रित छन् । सडकमा रहेका सहयोगापेक्षीलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको यस संस्थाले हाल सात प्रदेशका १७ जिल्लामा आफ्ना शाखा स्थापना गरी काम गर्दै आएको छ । सत्र जिल्लामा २५ सेवाकेन्द्र स्थापना गरी काम गरिरहेको यस संस्थाले नौ जिल्लामा आफ्नै भवन निर्माणको काम सुरु गरेको जानकारी दिइएको छ ।
विसं २०८२ भित्र खुला आकाशमुनि सडकपेटी एवं सार्वजनिकस्थलमा अतिकष्टपूर्ण जीवन बिताउनुपर्ने सहयोगापेक्षी सडक मानवमुक्त गर्ने लक्ष्यका साथ आश्रमले काम गर्दै आएको छ । यस संस्थाले १७ जिल्लामा छ हजार २७५ जनालाई सेवा प्रदान गरेको बताइएको छ । तीमध्ये दुई हजार ४२५ जनाको पारिवारिक पुनर्मिलन, एक हजार ६६७ जना उपचारपश्चात् स्वेच्छाले आश्रम छोडेका र ६३४ जनाको मृत्यु भएको छ ।
यस्तै ३५४ जनाको सामुदायिक पुनःस्थापना गरिएको र एक हजार ५६७ जना आश्रममा आश्रित रहेको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । उनका अनुसार चितवन शाखाको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
भरतपुर महानगरपालिका–३ बेलचोक नजिक निर्माणाधीन भवनमा १०० जना सहयोगापेक्षी राख्नसक्ने गरी भवन निर्माण गरिएको छ । समाजसेवी प्रेमकुमार श्रेष्ठ र स्व भगवानदाश श्रेष्ठको परिवारले उपलब्ध गराएको आठ कट्ठा जमिनमा भवन निर्माणको काम भइरहेको छ ।
भवन निर्माण सम्पन्न गर्नका लागि यही मङ्सिर २६ गतेदेखि आगामी पुस ४ गतेसम्म श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ गर्न लागिएको सो अवसरमा जानकारी दिइएको थियो । भवन निर्माणमा रु दुई करोड खर्च भइसकेको र अझै रु तीन करोड खर्च आउने बताइएको छ ।
विसं २०८० सम्म शाखामा आफ्नै भवन निर्माण, विसं २०८१ मा रु ५० करोडको अक्षकोष स्थापना र विसं २०८२ मा राष्ट्रिय अभियानका रुपमा घोषणा अभियानलाई तीव्र पारिने उनले बताए । अध्यक्ष अधिकारीले पारिवारिक गैरजिम्मेवारीपन समाजमा बढ्दै जाँदा सहयोगापेक्षी बढेको उनको भनाइ थियो ।

- ADVERTISEMENT -