चितवन / नारायणगढ–मुग्लिन सडक खण्ड १७ ठाउँमा पहिरोको उच्च जोखिम रहेको बताइएको छ । तीमध्ये ७ ठाउँमा साना–ठूला पहिरो गइसकेको डिभिजन सडक कार्यालय भरतपुरका इ. सागर कार्कीले जानकारी दिए ।
इ. कार्कीका अनुसार चार किलो, नाम्सी पुल, तीन नम्बर पुल, २६ किलो, २० किलो, १५ किलो, जुगेडी वजार नजिकको कविलास जाने बाटो उच्च जोखिममा देखिएका छन् ।
नारायणगढबाट ३१ किलोमिटर मुग्लिनतर्फ नाम्सी पुलमा धेरै समस्या आएको र पुल निर्माण गर्दा काटिएको भित्तोबाट पहिरो खसेर समस्या आएको इ. कार्कीले बताए । त्यसका अतिरिक्त सेती दोभान, कालिखोला, सिमलताल लगाएतका १० ठाउँ जोखिममा रहेको बताइएको छ । ती १७ ठाउँमा गत वर्ष पहिरो खसेका थिए ।
कतिपय ठाउँमा सुख्खा पहिरो समेत खसेर दुःख दिएको छ भने राजधानी प्रबेश र बाहिरीने यो मुख्य सडकमा एक दिनमा १० हजार बढी सवारी साधन आवागमन गर्ने गर्दछन् । सडक पूर्ननिर्माणको काम सकिए पनि सडक माथिका पहिरो जोखिम क्षेत्रको ब्यवस्थापन हुन नसक्दा पहिरोको जोखिम कायमै छ ।
डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले सडक विस्तार र पुल निर्माणको काम एकै पटक नहुँदा समस्या भएको बताए । उनका अनुसार मुख्य रुपमा पुल बनाउँदै गरेका ठाउँमा बढी समस्या देखिएको छ ।
भित्ता काटिएकाले ती ठाउँहरुमा पहिरो खसेको बताइएको छ भने सो सडक खण्डमा निर्माण गरिँदै रहेको १९ पुल मध्ये चार वटाको निर्माण पूरा भएर हस्तान्तरण भैसकेको छ । १४ वटा निर्माणको अन्तिम चरणमा रहेको छ ।
नेपाल भारत क्षेत्रिय ब्यापार तथा यातायात परियोजना अन्र्तगत नारायणगढ–मुग्लिन सडकको ३६ किलो मिटर सडक विश्व बैँकको सहयोगमा बिस्तारको काम गरिएको थियो । सन् २०१५ को अप्रिलमा ठेक्का सम्झौता भई रु २ अर्व ९० करोड खर्च गरि ३ वर्ष लगाएर सडक बिस्तार गरिएको हो । सोही क्रममा ३१ ठाउँका पहिरो नियन्त्रणका काम गरिएको थियो । अधिकांश ठाउँमा भित्तो काटिएको थियो । जस मध्ये सात ठाउँमा महत्वका साथ पहिरो रोक्ने काम गरिएको थियो ।
पहिरो रोक्ने कामका लागि मात्र रु ४० करोड खर्च भएको छ । सडक बिस्तारका क्रममा काटिएका भित्तो र ग्रामीण क्षेत्रमा जानका लागि खनिएका सडकका कारण धेरै ठाउँमा पहिरोले दुःख दिने गरेको थियो । यस वर्ष पुलका कारण तासिएको भित्तोबाट समेत पहिरो खसेको हो । सो सडकमा बर्षातको समयमा पटक पटक पहिरो खसेर दुःख दिने गरेको छ । नारायणगढ– मुग्लिन र पृथ्वी राजमार्गले धेरै दुःख दिए पछि चितवन, धादिङ र तनहुँका प्रमुख जिल्ला अधिकारी सहितका सुरक्षा अधिकारी, डिभिजन सडकका प्रमुखहरु सहितका सरोकारवालाहरुको संयुक्त बैठक बसेर पूर्ब तयारीका योजनाहरु समेत तय गरिएको छ ।
पहिरोको उच्च जोखिम भएका क्षेत्रहरुमा उपकरण र जनशक्ति तयारी अबस्थामा राख्ने निर्णय गरि कार्यान्वयनमा ल्याईएको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख डिभिजन इन्जिनियर बाबुराम सापकोटाका अनुसार पहिरो पन्छाउन हरेक वर्ष कम्तिमा रु १३ लाख खर्च हुने गरेको तथ्याङ्क छ । हाल सो सडकमा पहिरो पन्छाउनका लागि स्काभेटर सहितको प्राबिधिक टोलि २४ सैं घण्टा सडकमा नै बस्ने गरेको छ ।









































