चितवन / भारतबाट अवैध रुपमा माछा आयात हुने कार्य रोक्न उद्योगी–व्यवसायीले जोडदार माग गरेका छन् । शुक्रबार संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै उद्योग वाणिज्य संघ चितवन, उद्योग संघ चितवन, रत्ननगर उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य संघ खैरहनी, चितवन चेम्वर अफ कर्मस, चितवन मत्स्य व्यवसायी संघ र नेपाल मत्स्य व्यवसायी संघले भारतबाट आयातित माछा रोक्न माग गरेका हुन् ।
अवैध रुपमा माछा आयात हुँदा स्वदेशी माछाले बजार पाउन नसकेको पत्रकार सम्मेलन गर्दै शुक्रबार दुखेसो गरेका छन् । नेपाल मत्स्य व्यवसायी संघका महासचिव जोगेन्द्र चौधरीले किसानलाई प्रोत्साहन गर्न सहुलियत दिन छाडेर अवैध रुपमा माछा भित्रिन दिइएकोमा आक्रोश व्यक्त गरे ।
- ADVERTISEMENT -

उनले नेपाली बजारमा वार्षिक ६५ हजार मेट्रिक टन माछाको माग रहेको बताए । ‘दाना, विद्युतमा सहुलियत दिन सके यही कम लागतमा माछा उत्पादन गर्न सकिन्छ’, उनले भने, ‘स्वस्थकर माछा खपतमा जोड दिनुपर्छ ।’ उनले अवैध रुपमा भित्रिने माछाहरु खानाका लागि हानिकारक भएकाले भन्सार तथा नाकाहरुमा कडाई गरिनुपर्ने बताए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले दैनिक सरदर ५० टन माछा भन्सार छलेर आइरहेकाले अनुगमनमा कडाई गर्नुपर्ने बताए ।
उनले भारतबाट आयातित माछामा फर्मालिन, नाइट्राइट, सल्फर डाइअक्साइड जस्ता अखाद्य केमिकल्सहरु प्रयोग गरेर सड्नबाट जोगाउने गरिएको पाइएको बताए । चितवन मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले माछा आयातमा कडाई गरेर स्वस्थ्कर माछा खाने बानी विकास गर्नुपर्नेमा जोड दिए ।
भन्सारमा चेकजाँच गरी मापदण्ड पूरा गरेर मात्र माछा आयात हुनुपर्नेमा उनको भनाइ थियो । भन्सार नतिरी अस्वस्थकर माछा बजारमा सस्तो मूल्यमा आइरहेकाले राज्यले नियमन गर्नुपर्ने बताए । चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष सूर्य न्यौपानेले स्वदेशी उत्पादनको बजारीकरणका लागि तीन तहका सरकार गम्भीर बन्नुपर्ने बताए ।
रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले क्वारेन्टाइन तथा चेकपोष्टहरुमा कडाईपूर्वक अनुगमन हुनुपर्ने बताए । चितवनका मस्त्य व्यवसायीहरुले रामनगरबाट असोज २ गते ६ सय २० केजी, ३ गते २ हजार केजी अवैध रुपमा भित्रिएको माछा नियन्त्रणमा लिएर नष्ट गरिदिएका थिए ।

















































