चितवन / उद्योग वाणिज्य संघ चितवनद्वारा पुस २५ गतेबाट आयोजना हुन गइरहेको ‘चितवन महोत्सव २०७९’ विवादमा परेको छ । महोत्सवका लागि तयारी भइरहेको स्थान नारायणी नदीको उत्तरतर्फको खण्डमा रहेको खाल्डोमा नारायणगढ बजारबाट निस्कने फोहोर पुरेपछि विवादमा मुछिएको हो ।
नारायणी नदी तथा मानव वस्ती नजिकै पुरेकोले फोहोरबाट वातावरणमा गम्भीर असर गर्ने भन्दै वे ग्रुप, बेटर चितवन, नेपाल विकास समाज र हाम्रो दृष्टि राम्रो दृष्टिलगायतका सामाजिक अभियन्ताहरुले एक विज्ञप्ति जारी विरोध जनाएका छन् । उनीहरुले बिहीबार पत्रकार सम्मेलन गरेर संघको उक्त कार्यको विरोध गरेका हुन् ।

अभियन्ताहरुले विज्ञप्ति मार्फत पुरिएको फोहोर निकालेर सुरक्षित रूपमा अन्यत्र बिसर्जन गर्न भरतपुर महानगरसँग माग पनि गरेका छन् । सरोकारवाला निकायहरुले यस विषयलाई गम्भीरतापूर्वक नलिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । विज्ञप्तिमा माटोको विकल्प फाहोर हुन नसक्ने भन्दै फिलिङ गरिएको फोहोरले नदी प्रणाली र मानव जीवनमा प्रत्यक्ष असर गर्ने जनाइएको छ ।
नारायणी नदी नजिकै फोहोर पुरिँदा आर्थिक क्षति, शहरी क्षेत्रमा बाढीको जोखिम र नारायणी नदीको पुलको संरचनालाई कमजोर बनाउने खतरा सिर्जना हुने बेटर चितवनका संस्थापक अध्यक्ष सागर कार्कीको भनाइ छ । उनले भने, ‘यी फोहोरहरुले लामो समयसम्म नदीको इकोसिस्टमलाई क्षति पु¥याउनको साथै जलीय नदी प्रजातीहरुलाई असर गर्ने, पानीमा हानीकारक र विषादीयुक्त रसायन मिसिने र ग्राउण्ड वाटरलाई नेक्सान पु¥याउने गर्छ ।’
- ADVERTISEMENT -


भरतपुर महानगरपालिका र उद्योग वाणिज्य संघ चितवन दुबैले मानवीय त्रुटी भएको भनेर स्वीकार गरिसके पनि सुधार्न सक्रियता नदेखाएको जारी विज्ञप्तिमा जनाइएको छ । अभियन्ताहरुले डम्प गरिएका फोहोरलाई तत्कालै त्यहाँबाट निकालेर सुरक्षित विधि मार्फत् सुरक्षित स्थानमा व्यवस्थापन गर्न पनि माग गरेका छन् ।
उनीहरुका अनुसार नारायणी नदी किनारमा महोत्सव आयोजना गर्ने नाममा १५० भन्दा बढी ट्र्याक्टर फोहोर डम्प गरिएको छ । यसअघि पनि उनीहरुले महानगरलाई खबरदारी पत्र बुझाउँदै नारायणी नदी मात्र नभएर जलप्राणीहरूको घर हो भन्दै यसलाई दूषित बनाएर हामी कसरी उत्सव मनाउन सक्छौं ? भनेका थिए ।
















































