२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

चितवनमा कौराहा प्रतियोगिता : चन्द्र एकता मगर समाज प्रथम

प्रकाशित मिति : २०७९ पुष २४ गते
- ADVERTISEMENT -

चितवन / नेपाल मगर सांस्कृतिक संघ चितवनले आयोजना गरेको खुला मौलिक कौराहा प्रतियोगितामा भरतपुर–२ स्थित क्षेत्रपुरस्थित चन्द्र एकता मगर समाजले २५ हजारमाथि थप ३० हजार गरी ५५ हजार रूपैयाँ राशिको पुरस्कार जितेको छ ।
प्रतियोगितामा प्रथम हुन सफल चन्द्र एकतालाई प्रथम पुरस्कार सौजन्य गरेका मेकबहादुर आलेमगरले थप ३० हजार थपिदिएपछि ५५ हजार रूपैयाँ राशिको पुरस्कार जितेको हो।
पहिलोपटक आयोजना गरेको प्रतियोगितामा गैँडाकोटस्थित साली–भेना सांस्कृतिक समूहले दोस्रो स्थान हासिल गर्दै नगद १५ हजार रूपैयाँ पुरस्कार जितेको छ । भरतपुरको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडिटोरियम हलमा भएको प्रतियोगितामा नेपाल मगर संघ खैरहनीले तृतीय स्थान हासिल गर्दै नगद १० हजार रूपैयाँ पुरस्कार जितेको छ ।
कुल सात वटा समूहको सहभागीता रहेको प्रतियोगितामा सांस्कृतिक समूहले मगर समुदायले प्रयोग गर्ने पुराना सामानको समेत प्रदर्शन गरेका थिए । जाँतो, ढिकी, घर, चर्खा, गुन्द्री, चकटीलगायतका सामानसहित मौलिक कौराहामा सहभागी भएका थिए ।
आधुनिकताको विकाससँगै लोप हुने अवस्थामा पुगेपछि मौलिक कौराहाको संरक्षण गर्ने उद्देश्यले खैंजडीसहित प्रत्यक्ष गायनमा प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था नेपाल मगर सांस्कृतिक संघ चितवनकी अध्यक्ष प्रेमकुमारी आलेमगरले जानकारी दिइन् । यसबाट हराइसकेको मौलिकतालाई जोगाउने प्रयास गरिएको उनले बताइन् ।
प्रतियोगितामा नेपाल मगर संघ रत्ननगर नगर समिति, लाफा आमा समूह गैँडाकोट, झेर्नी मगर समाज शरदपुर (ख) र धर्मोदय मगर समाज कृष्णपुरले सहभागी थिए ।
कलाकारहरूले मौलिक संस्कृतिअनुसार नै कौराहा प्रस्तुत गरेका थिए । ‘चितवनमै पहिलोपटक गरिएको कार्यक्रममा मौलिक बाजासहित सहभागीता गराउँदा उपस्थिति कम हुने हो कि भन्ने चिन्ता थियो । तर, सबैले साथ दिँदा सफल भएको अनुभूति गरेकी छु,’ संघकी अध्यक्ष मगरले भनिन्, ‘अब यसलाई कसरी निरन्तरता दिने भन्ने चिन्ता छ ।’
कार्यक्रममा भरतपुर–७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेले नेपालमा आदिवासी जनजातिकै कारण संस्कृति संरक्षण भइरहेको बताए । त्यसमा पनि मगर जातिको संस्कृतिले देशकै इज्जत बचाएको उनले बताए ।
यो कार्यक्रमको लागि वडाबाट ‘जनजाति उत्थान’ कार्यक्रमअन्तर्गत नगद एक लाख रूपैयाँ आर्थिक सहयोग गरेको थियो । त्यसबाहेक प्रथम पुरस्कार मेकबहादुर आलेमगर र तृतीय पुरस्कार नारायणी दोहोरी साँझ तथा नेपाली चुल्होले प्रायोजन गरेका थिए ।
नेपाल मगर संघ चितवनका अध्यक्ष ठाकुरसिंह आलेमगरले चितवनको आदिवासी जनजाति समुदायमा पनि मौलिक संस्कृति जगेर्ना गर्ने परम्परा बसिसकेको बताए । ‘आजको यो कार्यक्रमले झनै बलियो आधार तय भएको छ,’ उनले भने, ‘अब यसले बिस्तारै ठूलो रूप लिँदै गए मौलिकताले पुस्तान्तरण हुने अवसर पाउनेछ ।’
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय समिति चितवनका अध्यक्ष महेन्द्र दुराले पनि आदिवासी जनजातिलाई यस्तै संस्कृतिले धनी बनाएकोले यसको संरक्षणमा सरकारी चासो हुनु सकारात्मक भएको बताए ।
कार्यक्रमको अन्त्यमा प्रत्यक्ष दोहोरी गाएर कार्यक्रमलाई थप मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा दोहोरी गायक निश्चल मगर र बबिता मगरले प्रत्यक्ष दोहोरी गाएका थिए भने निर्णायक मण्डलका संयोजकसमेत रहेका कौराहा गायक बलबिक्रम थापामगरले कौराहा, झ्याउरे आदि गीत गाएर उपस्थितलाई नचाएका थिए ।

- ADVERTISEMENT -