चितवन । भरतपुर महानगर तरकारी तथा फलफूल बजारमा महिलाहरुलाई लक्षित गरी फोहोर व्यवस्थापन तथा कौशी खेती तालिम प्रदान गरिएको छ । सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्थाले महिला शेयर सदस्यहरुलाई लक्षित गरी शनिबार उक्त तालिम प्रदान गरिएको हो ।
जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि विद्या कोइरालाले महिलाहरुको थुप्रै समस्या र चुनौति भएकाले सबैलाई किनारा लगाउँदै निकास र आयमूलक काममा समाहित गर्नुपर्ने बताए । तालिमले महिला सदस्यहरु लाभान्वित सँगसँगै वातावरण प्रदूषण हुनबाट रोक्न उल्लेख भूमिका खेल्ने उनको भनाइ थियो ।
संस्थाका अध्यक्ष थिरप्रसाद धितालले तालिमबाट प्राप्त गरेका सिपलाई महिला सदस्यहरुले व्यवहारिक जीवनमा उतार्नु पर्ने बताए । अध्यक्ष धितालले तालिम लिएर कौसी तथा करेसाबारीमा परिवर्तन नआए कुनै औचित्य नहुने जिकिर गरे ।

संस्थाका सदस्यहरुलाई फोहोर व्यवस्थापन तथा कौशी खेती तालिमले वातावरण संरक्षणमा सहयोग पुग्ने संस्थाका व्यवस्थापक विकास पौडेलले बताए । बढ्दो शहरीकरण र फोहोरको प्रदूषणलाई तालिमले वातावरण संरक्षणमा बल पुग्ने उनको विश्वास थियो ।
कार्यक्रमका प्रशिक्षक तुलसा ज्ञवालीले भान्साबाट निस्कने फोहोरलाई व्यवस्थापन गर्ने विधिबारे प्रशिक्षण दिएकी थिइन् । उनले गल्ने फोहोरलाई मल बनाउने र त्यसको प्रयोगबाट अर्गानिक तरकारी उत्पादन बारे बताइन् ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष पुरुषोत्तम गौतम, सचिव मुकुन्दप्रसाद गौतम, जयराम पाण्डे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका ५० बढी महिला शेर सदस्यहरुको सहभागिता रहेको थियो भने संचालन उपाध्यक्ष भगवती पाण्डेले गरेकी हुन् ।
- ADVERTISEMENT -


















































