March 15, 2025
- ADVERTISEMENT -

तामाङ समुदायलाई संगठित बनाउन जोड

March 18, 2023

–बबिलाल तामाङ
चितवन । नेपाल तामाङ घेदुङ संघीय उपाध्यक्ष सोम गोले तामाङले नेतृत्वमा रहने जोकोहीले संगठनको उद्देश्य, काम, कर्तव्य र अधिकारको बारेमा दिलैदेखि बुझ्न पर्ने बताएका छन् ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनको पाँचौ अधिवेशनमा कार्यक्रमको प्रमुख अतिथि समेत रहेका उपाध्यक्ष तामाङले शनिबार सो बताएका हुन् ।
उनले संस्कार र संस्कृतिलाई स्थापित गर्न सबै विचारका व्यक्तित्वहरुलाई बढाएर घेदुङ एक ढिक्का बनाई सिंगो तामाङलाई संगठित गर्नुपर्ने उनको भनाइ थियो । ‘अहिले तामाङहरुको पहिचान बिस्तारै मेटिदै गएको छ’ उनले भने, ‘अर्काको कारण नभइ आफ्नै पछौटेपनले हो ।’
हिजो राज्यले तामाङ समुदायलाई दबाएको र विभिन्न अवसरबाट बन्चित गरेको उनको भनाइ थियो । देशमा गणतन्त्र आएसँगै पछिल्लो समय तामाङ समुदायले बोल्न पाउने अधिकार सँगसँगै राज्यको विभिन्न तहतप्कामा उपस्थिति जनाएको बताए ।
उनले तामाङको घरघर, टोलटोलमा गएर हाम्रो समाज चलिआएका संस्कार, संस्कृति, धर्म, भाषा, लिपि र भेषभूषाको बारेमा जानकारी दिन जरुरी भएको बताए । हाम्रो धर्म र संस्कारलाई त्यागेर र बहिस्कार गर्दै हाम्रो पहिचान खोज्न कदापि नसकिने उनको जिकिर थियो ।
विचार राजनीति खोज्न लागेमा तामाङको अगुवा कहिल्यै खोज्न नसकिने बताउँदै कुनै पनि नेताको झोले बन्न नहुने उनको आग्रह थियो । नेतृत्वले संस्कार, संस्कृति र भाषाको रक्षा गर्न सक्ने हुनुपर्ने उनको धारणा थियो ।
उक्त पाँचौ अधिवेशनबाट बाबुलाल थिङ अध्यक्षमा निर्वाचित भएका छन् । भरतपुरको जिल्ला समन्वय समिति चितवनको सभाहल सम्पन्न उक्त अधिवेशनबाट २१ सदस्यीय रहने गरी कार्यसमिति चयन भएको हो ।
अधिवेशनबाट उपाध्यक्षहरुमा निलिमा गोङ्बा, पानुमाया तामाङ, नरजङ तामाङ र सचिवमा सन्देश घलान निर्वाचित भएका हुन् भने कोषाध्यक्षमा आइतीमाया तामाङ र सहसचिवहरुमा जितबहादुर तामाङ, डम्बरबहादुर तामाङ छानिएका छन् ।
यस्तै सदस्यहरुमा यमबहादुर तामाङ, बोधबहादुर गोले, अशोक पाख्रिन, धनबहादुर तामाङ, माया तामाङ, बुद्धिमाया तामाङ चयन भएका छन् ।
नवनिर्वाचित सचिव घलानका अनुसार १७ सदस्यीय कार्यसमिति गठन हुनुपर्नेमा हाल १४ सदस्यीय मात्र भएको छ भने रत्ननगर र खैरहनी नगरपालिकाबाट ३ जनालाई कार्यसमितिको पहिलो बैठकबाट पूर्णता दिने जानकारी दिए ।
घेदुङको संघीय विधानतः २१ सदस्यीय कार्यसमिति गठन गरिने प्रावधान रहेको छ भने तत्काल १७ सदस्यीय मात्र कार्यसमिति गठन गरिने उनको भनाइ छ । उनले थप ४ जना भने तामाङ समुदायबाट बुद्धिजीवी सर्कलका व्यक्तित्वहरुलाई मनोनयन गरिने बताए । नवनिर्वाचित अध्यक्ष थिङले संस्थागत विकास र उन्नतिका लागि मिडियामैत्री बनाउँदै तामाङ समुदायको समाज रुपान्तरणमा जोड दिने बताए । समुदायमा तामाङको संस्कार, संस्कृति, धर्म, भाषा, लिपि र भेषभूषाको प्रचार प्रसार ब्यापक बनाउने उनको भनाइ छ ।
कार्यक्रममा राप्ती नगरपालिका निवर्तमान उपमेयर इमानसिंह लामा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका राजेश रुम्बा लामा, फोनिज चितवनका अध्यक्ष रमेश राना मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल तामाङ घेदुङ चितवनका कार्यवाहक अध्यक्ष मैतसिंह घिसिङको सभापतित्वमा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -