March 15, 2025
- ADVERTISEMENT -

स्मरणमा मदन–आश्रित

May 17, 2023

नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा परी निधन भएको ३० वर्ष पूरा भएको छ । विसं २०५० साल जेठ ३ गते दुर्घटनामा परी निधन भएका नेताद्वयको स्मरणमा हरेकवर्ष स्मृतिसभा गरी नेपाली कम्युनिस्ट आन्दोलनमा उनीहरुको त्याग, योगदान र विचारको सम्मान गर्ने गरिएको छक। मदन–आश्रितको निधनपश्चात् त्रिशूली नदीमा धेरै पानी बगिसक्यो । नेपाली राजनीतिमा अकल्पनीय परिवर्तनहरु भए । तर, जनजनमा बस्न सफल नेताद्वयको रहस्यमय दुर्घटनाको पर्दा भने खुल्न सकेको छैन । तीन दशकसम्म पनि तिनै नेताहरुको रहस्यमय दुर्घटनाबारे वास्तविकता खुल्न सकेको छैन ।
दासढुंगामा जीप दुर्घटनापश्चात् भण्डारीको शव गाजीपुरमा भेटिएपछि दुर्घटना थप रहस्यमय बनेको थियो । विगतमा कम्युनिस्ट सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र स्वयम् मदन भण्डारीकी धर्मपत्नी विद्यादेवी भण्डारी राष्ट्रपति रहँदा पनि घटनाको वास्तविकता बाहिर आउन सकेन । मदन–आश्रित निधनपश्चात् नै घटनाको अनुसन्धान गरिएको भनिए पनि त्यसको रहस्य उद्घाटन हुन सकेन । तत्कालीन एमालेले मदन–आश्रितको हत्याको आरोप राष्ट्रिय–अन्तर्राष्ट्रिय व्यक्ति तथा निकायहरुलाई लगाएको थियो । हत्याको छानबिन गर्ने भनी विभिन्न अनुसन्धान टोलीसमेत बने । तर, वास्तविकता उजागर हुन सकेन । दुर्घटनाका साक्षी रहेका जीप चालक अमर लामाको पनि हत्या भएपछि सो घटना थप रहस्यमय बन्न पुगेको छ ।
मदन भण्डारी निडर, स्वप्नद्रष्टा, इमान्दार र सुझबुझ भएका जनताका लोकप्रिय नेता थिए । मदन भण्डारीमा असाधारण क्षमता देखेरै अमेरिकी चर्चित पत्रिका न्यूज विकले ‘इन नेपाल कार्ल माक्र्स लाइभ’ अर्थात् नेपालमा कार्ल माक्र्स जीवितै छन् भनेर लेखेको थियो । तर, नेपालमा कार्ल माक्र्स लामो समयसम्म जीवित रहन पाएनन् । उनको दुर्घटना÷हत्या गराइयो । उनको निधनपछि नेपाल गरिब, अशान्त र अविकसित राष्ट्र रहन पुग्यो । नेपाली राजनीति अस्थिरता र द्वन्द्वको कलहमा फस्न पुग्यो । एमालेले भण्डारीले प्रतिपादन गरेको जबजलाई चुनावी नारामात्र बनायो । विश्वले मानेका जनप्रिय नेताको दुर्घटनाको वास्तविकता बाहिर ल्याउन नसक्नु उनका उत्तराधिकारीहरुको हदैसम्मको लापर्बाहीपन हो । नेकपा एमालेले मदन–आश्रितको हत्याकाण्डबारे सत्यतथ्य विवरण बाहिर ल्याउन सकेमात्रै दिवंगत नेताहरुको आत्माले शान्ति पाउनुका साथै उनीहरुले देखेको सपना पूरा हुने विश्वास गर्न सकिन्छ ।

- ADVERTISEMENT -