–सन्तोष तामाङ
चितवन । तामाङ पत्रकार संघ जिल्ला शाखा चितवनले एक हप्ते निःशुल्क ‘तामाङ भाषा प्रशिक्षण’ दिने भएको छ । ‘तामाङ भाषा प्रशिक्षण’ यही जेठ २७ गतेबाट असार १ गतेसम्म भरतपुरमा हुने संघका अध्यक्ष बबिलाल तामाङले जानकारी दिए ।
अध्यक्ष तामाङका अनुसार संघको शनिबार टाँडीमा सम्पन्न बैठकबाट सो निर्णय गरिएको हो । विशेषगरी तामाङ समुदायका युवायुवतीलाई लक्षित गरी उक्त कार्यक्रम गर्न लागिएको संघले जनाएको छ ।
पछिल्लो समय समुदायमा तामाङ भाषा प्रचलनमा नआउनु, बढ्दो शहरीकरणसँगै युवायुवती अन्य भाषातर्फ जान बाध्य भएका कारण आफ्नै मातृभाषाको ज्ञान हराउँदै गएको उनको भनाइ छ । उनले उक्त तालिमबाट तामाङको संस्कृति तथा भाषा जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
संघले तालिममा भरतपुर महानगरभित्रका सम्पूर्ण तामाङवासीहरुलाई तालिममा सहभागी हुन आग्रह समेत गरिएको छ । सिट सीमित भएकाले पहिलो आउनेलाई प्राथमिकता राखेर तालिम दिइने उनले बताए ।
बैठकको निर्णय अनुसार अधिवक्ता अजयकुमार तामाङले ‘तामाङ भाषा’को प्रशिक्षण दिने भएको छ भने ६० जना प्रशिक्षार्थीहरु सहभागी गराउने लक्ष्य राखिएको छ । बैठकमा तामाङ पत्रकार संघ संघीय सचिव उर्गेन तामाङ, संघका सचिव प्रकाश तामाङ, सहसचिव सन्तोष तामाङ, सदस्य युवक तामाङ, मनोनित सदस्य प्रकाश लामालगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -


















































