काठमाडौँ / आश्विन शुक्ल पूर्णिमाका दिन आज (शनिबार) खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक आज दिउँसो ४ः१९ बजेदेखि सुरु हुनेछ ।
राति २ः३८ बजे ग्रहण सकिने (पञ्चाङ्ग) पात्रोमा उल्लेख गरिएको छ । यो चन्द्रग्रहण विसं २०८० मा लाग्ने एक मात्र ग्रहण भएको समितिले जनाएको छ ।
ग्रहणका बेलामा स्नान गरी शुद्ध भावले विभिन्न मन्त्रोच्चारण गर्नाले राम्रो हुने मानिन्छ । तर, विशेष कामना राखेर गरिने कर्म भने गर्न नहुने बताइन्छ । धर्मशास्त्रका ग्रन्थमा चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने उल्लेख गरिएकाले आज राती लाग्ने ग्रहणको दिउँसो ४ः१९ बजेदेखि बार्नुपर्ने हुन्छ ।
बाल, वृद्ध र बिरामी बाहेकले भोजन गर्न नहुने बताइएको छ । ग्रहणका बेला जप, स्नान,ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ। गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो ।
ग्रहण लागेका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी,ताल,तलाउ, पोखरी वा त्यो पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णय सिन्धु,काल माधव, लगायतका धार्मिक ग्रन्थमा उल्लेख गरिएको पाइन्छ ।