चितवन / भरतपुर–२, क्षेत्रपुरस्थित रामकृष्ण टोल तमू समाजले तमू ल्होसार मनाएको छ । आफ्नै भवनमा समाजले सोमबार वृहत् सांस्कृतिक कार्यक्रमसहित ल्होसार पर्व मनाएको हो । समाजकी अध्यक्ष खुसमाया गुरूङले तमू ल्होसार पर्वमार्फत आपसी भाइचाराको सम्बन्ध स्थापित गराउन सकिने हुँदा हरेक वर्ष ल्होसार पर्व मनाउँदै आएको जानकारी दिइन् ।
समाजका संस्थापक अध्यक्ष रामकृष्ण गुरूङले पुस १५ गते विशेष दिन भए पनि अवसर पारेर त्यसअघि नै ल्होसार पर्व मनाइएको जानकारी दिए । पुस १५ गतेका दिन नजिकै रहेको महाबौद्ध गुम्बा परिषरमा भव्य कार्यक्रम हुने हुँदा टोलमा हरेक वर्ष केही दिनअघि नै ल्होसार मनाउने गरिएको उनको भनाइ छ ।
तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् संघीय समितिका सचिव सन्तलाल गुरूङले ल्होसार पर्वमार्फत विश्वमा तमू जातिको सांस्कारिक पहिचान स्थापित गराउनमा रामकृष्ण टोल तमू समाजको भूमिका महत्वपूर्ण रहेको बताए । त्यतिमात्र नभई गुरूङ जातिको छाता संस्था तमू ह्युल छोँज धीँको हरेक गतिविधिमा रामकृष्ण टोल तमू समाजको भूमिका अतुलनीय रहेको उनको भनाइ छ ।
ह्युल छोँज धीँ चितवनको नेतृत्व सम्हालिसकेका उनले आफ्नो कार्यकाल सफल बनाउन र समग्र चितवनका गुरूङ समुदायलाई एक ठाउँमा उभ्याउनको लागि पनि विशेष भूमिका खेलेको भन्दै खुसी व्यक्त गरे । कार्यक्रममा तमू ह्युल छोँज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङ, वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर गुरूङ, त्रिरत्न उपभोक्ता सहकारी संस्थाका अध्यक्ष गजबहादुर गुरूङ, रामकृष्ण टोल विकास संस्थाका अध्यक्ष हरिशरण श्रेष्ठलगायतको उपस्थिति थियो ।
औपचारिक कार्यक्रमपछि समाजका कलाकारहरूले नाचगान गरेर राति अबेरसम्म मनोरञ्जन दिलाएका थिए । समाजले विगत लामो समयदेखि ल्होसार पर्वलाई निरन्तररूपमा मनाउँदै आएको छ । १२ वटा जीवजन्तुको नाममा वर्ग अनुसार पर्व मनाउँदै आएका गुरूङ समुदायले यसवर्ष बिरालो वर्गलाई बिदाइ गर्दै गरूड वर्गलाई स्वागत गरेर ल्होसार मनाउँदै छन् ।
- ADVERTISEMENT -

रामकृष्ण टोलले मनायो तमू ल्होसार
December 26, 2023

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
