चितवन / चितवनमा माघ २५ गतेदेखि सुरु हुने अन्तर कलेज हिसान कप नाइन ए साइड फुटबलको खेल तालिका सार्वजनिक भएको छ । मंगलबार वाल्मिकी शिक्षा सदनमा आयोजित पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको हो ।
उच्च शिक्षालय तथा माद्यामिक विद्यालय संघ (हिसान) चितवनको आयोजनामा फागुन २ गतेसम्म चल्ने प्रतियोगितामा १४ टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
सार्वजनिक तालिका अनुसार हरेक दिन दुई खेल हुनेछ । २५ गते उद्घाटन खेलमा एपेक्स कलेज र अर्किड स्कुल भिड्नेछन् । उक्त खेल दिउँसो २ बजे सुरु हुनेछ । यस्तै सोही दिन ३ बजे वाल्मिकी शिक्षा सदन र गुरुकुल कलेज भिड्नेछन् । प्रतियोगिताको खेलहरु भरतपुर १० स्थित गेष्ट हाउस चौरमा हुनेछन् ।
प्रतियोगिताको विजेताले ट्रफीसहित ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले २० हजारसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै हरेक विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
कलेज तहदेखि नै फुटबल खेलको बिकास र खेलाडीको खेल कौशल वृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको हिसान चितवनका अध्यक्ष दीपेन्द्र ढकालले बताउनुभयो । चितवन जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।