२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

भरतपुर १० का वासिन्दालाई उपचारमा ५० प्रतिशत छुट सुविधा

प्रकाशित मिति : २०८० फाल्गुन १२ गते
- ADVERTISEMENT -

चितवन / भरतपुर महानगरपालिका–१० का वासिन्दाले उपचारमा ५० प्रतिशत छुट पाउने भएका छन् । उनीहरुले चितवन मेडिकल कलेजमा उपचारका लागि सो छुट पाउने भएको हो । भरतपुर महानगरपालिका वडा नं. १० को कार्यालय र अस्पतालबीच भएको सम्झौता–पत्रमा वडावासीलाई अस्पतालमा उपचारका क्रममा ५० प्रतिशत एवं औषधिमा सात प्रतिशत छुट दिइने उल्लेख छ ।

भरतपुर महानगरपालिका वडा नं. १० का वडाध्यक्ष परमेश्वर खनाल र चितवन मेडिकल कलेजका तर्फबाट व्यवस्थापक पारस अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । यस्तै वडाध्यक्षको सिफारिसमा चितवन रोयल क्यान्सर इन्स्टीच्युटमा सञ्चालित सिटीइभिटीको पढाइमा वडावासी विद्यार्थीले १० प्रतिशत छुट प्राप्त गर्ने छन् ।

छुट सेवा लिनका लागि वडा कार्यालयले जारी गरेको कार्ड लिएर अस्पतालमा जानुपर्ने सम्झौतापत्रमा उल्लेख छ । प्रथम पक्ष अर्थात् वडावासीले सिधै खरिद गरेका कुनै पनि सामानमा सम्झौता लागू नहुने र अस्पतालको आकस्मिक कक्ष एवं बहिरङ्ग टिकटमा समेत छुट गर्ने गरी सम्झौता भएको वडाध्यक्ष खनालले जानकारी दिनुभयो । वडा कार्यालय र अस्पतालबीच भएको सम्झौता २०८४ चैत ३० गतेसम्म लागू हुने छ ।

वडा कार्यालयले आयोजना गरेको कुनै पनि स्वास्थ्यसम्बन्धी कार्यक्रममा अस्पतालले आवश्यक स्वास्थ्यसम्बन्धी जनशक्ति उपलब्ध गराउने सम्झौता भएको छ । मेडिकल कलेजले अन्य पालिकासँग समेत सम्झौता गरेर छुटमा उपचार गरिरहेको छ ।

- ADVERTISEMENT -