काठमाडौं / जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित लोकतान्त्रिक चोकबाट ७ जना र कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकबाट ६ जना गरी १३ जुवाडेलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ ।
प्रहरीले जिल्लाको तारकेश्वर मनमैजुस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने म्याग्दी धौलागिरी नगरपालिका–७ घर भएका ४८ वर्षीय तेजेन्द्र भण्डारीसहित ७ जनालाई शनिबार साँझ पक्राउ गरेको हो । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार ५ सय ६५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी, कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकबाट पनि ६ जना पक्राउ परेका छन् । स्थानीय गोपाल बस्नेतको मोटरसाइकल ग्यारेजमा जुवातास खेलिरहेको अवस्थामा बारा बिश्रामपुर नगरपालिका–१ घर भएका ४० वर्षीय रमेश शाह समेत ६ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४० हजार ४ सय ५० नेपाली रूपैयाँ, ३ हजार २ सय भारतीय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । ती सबै घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।