गोरखा / बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् । गोरखाको पालुङटार नगरपालिका–७ च्याङलिङस्थित बगरखेतमा बुधबार स्थानीय ७६ वर्षीय गनबहादुर कुमाल र सोही ठाउँका ६३ वर्षीय राजमान कुमाललाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाघको आक्रमणबाट दुबैजना गम्भीर घाइते भएका छन् । राजमानलाई मर्स्याङ्दी नदीमा माछा मार्न जाँदा र गनबहादुरलाई स्थानीय जंगलमा घाँस काट्न जाँदा बाघले आक्रमण गरेको हो । घाइते दुबैको घाँटी, खुट्टा र शरीरका विभिन्न भागमा चोट छ। राजमानको तनहुँस्थित डुम्रे अस्पतालमा र गनबहादुरको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।