काठमाडौं / सर्लाहीको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । हरिपूर्वा नगरपालिका–५, हरिपूर्वा निवासी २७ वर्षीय धिरेन्द्र यादवले बिहीबार राति करिब १ बजेतिर २३ वर्षकी श्रीमती चित्रलेखा यादवको गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता दीपक श्रेष्ठका अनुसार गएराति एक्कासी धिरेन्द्र एकजना साथीसँग मोटरसाइकलमा घरमा आएको र चित्रलेखामाथि गोली प्रहार भएको हो ।
- ADVERTISEMENT -

उनीहरुबीच घरायसी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । वैदेशिक रोजगारीमा रहेका धिरेन्द्र एक महिना अगाडिमात्रै घर आएका थिए । उनी घर आएदेखि परिवारका सदस्यहरुसँग बेलाबेला झगडा भइरहन्थ्यो । त्यसपछि उनी घरबाट हिँडेको प्रहरीले बताएको छ ।
गोली हानेर फरार भएका उनको खोजी भइरहेको छ । फरार धिरेन्द्रले विवादमा आफ्नै बुवा ५४ वर्षका रामदिनेश यादवलाई पनि गोली हानेर घाइते बनाएका छन् ।











































