गाँजीपुर / २०५२ सालमा स्थापना भएको छेलिङ बौद्ध गुम्बाले पहिलोपटक स्थानीय लामा गुरूहरुबाट बुम (त्रिपिटक)को चार दिने पाठ वाचन गरेको छ । भरतपुर महानगरपालिका वडा नं.१७ गाँजीपुरमा रहेको गुम्बामा लामा गुरू स्यमफेन थिङको नेतृत्वमा चारदिनसम्म पाठ वाचन तथा वाङ (अभिषेक) ग्रहण कार्यक्रम सञ्चालन गरिएको हो ।
बुम वाचन कार्यक्रमका संयोजक बुद्धिमान स्याङतानका अनुसार २४ जना लामा गुरूहरुबाट पाठ वाचन गरिएको हो । लामा गुरूहरुबाटै गुम्बामा बुम पाठ गर्ने प्रयास गरेपछि स्थानीय र गुम्बा समितिले साथ दिँदै कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
- ADVERTISEMENT -

गुम्बा निर्माण भएपछि पाठ वाचनका लागि करिब सात वर्षअघि नै बुम पाठ गर्ने ठेली आइपुगेको थियो । तर, कार्यक्रम गर्न सम्भव नभएपछि हालसम्म थन्किएको थियो । यसपटक भने आँट गरेर कार्यक्रम गर्दा सबैको साथ पाएको लामा गुरू गणेश लामा (कुन्साङ)ले जानकारी दिए । कार्यक्रमलाई सफल पार्नको लागि स्थानीय तथा निजी क्षेत्रबाटै सहयोग प्राप्त भएको उनले बताए ।
गुम्बामा आएर बसेको ठेली पढ्नको लागि धेरै लामा गुरूको आवश्यक पर्छ । र समय पनि धेरै चाहिन्छ । त्यसकारण पनि सबै गुम्बाले जुनसुकै बेला यो कार्यक्रम गर्ने आँट गर्दैन । तर, यसपटक चुनौती नै मोलेर स्थानीय लामा गुरूहरुकै उपस्थितिमा बुम पाठ सम्पन्न गरेको उनले बताए ।

उनका अनुसार एउटै ठेली एक हजार ६०० पृष्ठ लामो हुन्छ । त्यसलाई वाचन गर्नको लागि एउटै गुरूबाट सम्भव नहुने हुँदा एकसाथ धेरै लामाहरुको उपस्थिति चाहिने उनको भनाइ छ । भाग लगाए पढ्दा पनि लामाको सङ्ख्या थोरै भए धेरै दिन लाग्ने र धेरै भए थोरै दिनमै सकिने उनले बताए ।
गुम्बामा बुम कार्यक्रम गर्नको लागि लामा गुरूहरुबाटै पहल भएको हो । उनका अनुसार लामा गुरू मङ्गल लामाको नेतृत्वमा सोङ्ग्यम (डमरु बजाएर भिक्षा माग्ने) कार्यबाट बुम पाठको कार्यक्रम गर्ने योजना बनेको हो । त्यसरी सङ्कलित रकमबाट कार्यक्रम सुरु गर्न सहज भएको लामागुरू कुन्साङले जानकारी दिए ।
कार्यक्रम सुरू भएपछि पनि पाठ वाचनको लागि आफैँबाट सुरू गरेपछि अन्य भक्तजनहरुले साथ दिँदै गएको उनको भनाइ छ । ‘सुरुमा म आफैँले तीन वटा ठेली बुम वाचन गर्न अघि सरेँ । त्यसपछि स्थानीयले पनि बुझेर आ–आफ्नो नाममा ठेली वाचन गर्न अघि सर्नुभयो,’ उनले भने, ‘त्यसरी नै कार्यक्रम सफल भएको हो ।’
बुद्ध धर्ममा पञ्चतत्वभित्र रहेर काम गरे बुद्धले जस्तै ज्ञान प्राप्त गरिन्छ भन्ने विश्वास छ । सोही अनुसार कार्यक्रम गरिएको उनले बताए । ‘हाम्रो समुदायमा बुम वाचन गर्दा सुनेर, छोएर या ठेलीलाई ढोगेर पनि धर्म प्राप्त गर्न सकिन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘त्यसैले सके वर्षेनि कार्यक्रम गर्दा राम्रो हुन्छ ।’









































