काठमाडौं / नेपाल प्रिमियर लिग (एनपीएल) का विजेताले १ करोड १० लाख रुपैयाँ पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त पुरस्कार राशी घोषणा गरेको हो ।
यस्तै, उक्त प्रतियोगिताको उपविजेता समूहले ५१ लाख, तेस्रो स्थानमा रहने समूहले २५ लाख र चौथो हुने समूहले १५ लाख पुरस्कार पाउने जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार दिने यसअघि नै क्यानले घोषणा गरिसकेको छ । प्रतियोगिताको पुरस्कार घोषणा आज गरिएको हो ।
एनपीएलमा बुधबारदेखि प्लेअफका खेलहरू सुरू हुँदैछ । सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स शीर्ष चारमा रहँदै प्लेअफमा पुगिसकेको आयोजकले जनाएको छ ।