काठमाडौं / इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यसको अर्थ विगत १५ महिनादेखि गाजामा जारी युद्ध तत्कालका लागि अन्त्य भएको बीबीसीले जनाएको छ।
अमेरिकाको बर्हिगमन जो बाइडेन प्रशासन, कतार र इजिप्टको मध्यस्तथामा कतारको दोहामा भएको युद्धविराम वार्तामा दुवै पक्षले सहमति जनाएपछि युद्ध विराम भएको हो ।
- ADVERTISEMENT -

अमेरिकी राष्ट्रपति जो बाइडनको बर्हिगमनको क्रममा रहेको प्रशासनले दबाब बढाएपछि युद्धविरामले अन्तिम रुप लिएको हो । दुवै पक्षले युद्धविराम प्रस्तावमा हस्ताक्षर गर्दै गाजा युद्धविराम र बन्धक रिहाई सहमति भएको बताएको छ ।
कतारको दोहामा भएको वार्तामा दुवै पक्षका अधिकारीहरूबीच एउटै भवनमा अप्रत्यक्ष वार्ता गर्दै निश्कर्षमा पुगेको हुन् । युद्धविराममा सहमति भएको ४८ देखि ७२ घण्टाभित्र लागु हुने बताइएको छ ।
सम्झौता भए अनुसार हमासले पहिलो चरणमा ३४ जना इजरायली बन्धक रिहा गर्नेछ । यस्तै युद्धविरामको १६औं दिनमा सम्झौताको दोस्रो र तेस्रो चरणको लागि वार्ता सुरू हुनेछ ।
सन् २०२३ अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरेर ११९५ नागरिकको हत्या र २५१ जनालाई अपहरण गरेर गाजा लगेपछि पछिल्लो युद्ध सुरु भएको थियो । जवाफमा इजरायलले निरन्तर गाजामाथि बमबारी गरिरहेको छ । त्यसमा ४६ हजारभन्दा बढी गाजावासी मारिइसकेका छन् ।









































