भरतपुर / चितवन ११ फुटबल क्लबको आयोजनामा ‘राईजिङ भरतपुर गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ ।
नेपाल प्रहरी शिक्षालय भरतपुर तालिम केन्द्रको मैदानमा उक्त फुटबल प्रतियोगिता हुन गइरहेको शनिबार पत्रकार सम्मेलन मार्फत क्लबका अध्यक्ष सुशील कार्कीले जानकारी दिए ।
- ADVERTISEMENT -

अध्यक्ष कार्कीका अनुसार यही माघ १२ गतेदेखि १९ गतेसम्म प्रतियोगिता हुनेछ । प्रतियोगितामा ए डिभिजनसहित ८ टोली सहभागी हुने उनले बताए ।
प्रतियोगितामा ए डिभिजन क्लब नेपाल पुलिससहित सरस्वती युथ क्लब काठमाडौं, बागमती युथ क्लब सर्लाही, आबुखैरेनी नगरपालिका, गैंडाकोट फुटबल क्लब, सुर्यपुर फुटबल क्लब, भरतपुर २४ खेलकुद बिकास समिति र प्याराडाईज युथ क्लब गरी ८ टोली सहभागी हुनेछन् ।
- ADVERTISEMENT -

प्रतियोगिताको विजेताले ट्रफीसहित सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीले दश तथा हरेक दिनको प्लेयर अफ दि म्याचले पाँच हजार रुपैँया प्राप्त गर्नेछन् ।
प्रतियोगिताको पहिलो चरणमा ५० रुपैयाँ, सेमिफाइनलमा एक सय तथा फाइनलमा दुई सय रुपैयाँको टिकटको व्यवस्था गरिने क्लबका अध्यक्ष कार्कीले बताए ।
क्लबले यसअघि गत वर्ष भरतपुर च्याम्पियनसिप कप आयोजना गरेको थियो । उक्त प्रतियोगिता परिमार्जन गरेर थप वृहत गर्ने योजनासहित यस पटक गोल्डकप आयोजना गरिएको कार्कीको भनाइ थियो ।
चितवन जिल्ला खेलकुद विकास समितिका नवनिर्वाचित अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि राजन कार्कीले प्रतियोगिताको सफलताको कामना गरे ।
उनले खेलकुदमा राजनीति गर्न नहुने बताउँदै संस्थागत रुपमा गर्न सकिने सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।








































