२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

चितवनमा तीर्थ गुरूङको ‘हिउँको गीत’ को चर्चा

प्रकाशित मिति : २०८२ बैशाख ७ गते
- ADVERTISEMENT -

चितवन / भरतपुरमा आख्यानकार तीर्थ गुरूङको तेस्रो आख्यान ‘हिउँको गीत’माथि शनिबार चर्चा गरिएको छ । तमू प्ये ल्हु संघ चितवनले आयोजनामा भएको ‘हिउँको गीत उत्सव’ नामक कार्यक्रममार्फत् उक्त कृतिमाथि चर्चा गरिएको हो ।

कृतिमाथिको चर्चामा डा केशव चालिसेले ‘हिउँको गीत’ उपन्यास नेपाली साहित्यको शक्तिशाली पुस्तक भएको बताए । ‘सातसय वर्ष पहिलेको कथालाई उपन्यासमार्फत् केलाउन खोजिएको छ । यसले गुरूङ समुदायको सांस्कृतिक पक्षलाई पनि बोकेको छ । त्यसैले यो उपन्यासलाई आख्यानमात्रै भनेर पुग्दैन, सांस्कृतिक आख्यान भन्नुपर्छ,’ उनले भने, ‘एकातिर सांस्कृतिक आख्यान र अर्कोतिर महाआख्यान भन्दा पनि फरक पर्दैन ।’ आख्यानमार्फत् गुरूङ समुदायको संस्कृति संरक्षण गर्ने प्रयास लेखकले गरेको उनले बताए ।

कार्यक्रममा गुरूङ समुदायले सेतो टीका लगाएर सत्कार गरेको प्रसङ्ग जोड्दै डा चालिसेले थपे, ‘संस्कृति बाँच्ने आधारमध्ये एउटा अभ्यास र अर्को दस्ताबेज हो । अभ्यासमा सेतो टीका पर्छ भने दस्ताबेजमा पुस्तक लेखन । यसले पछिसम्म पनि राम्रो प्रभाव जमाउन सक्छ ।’ हिउँको गीत उपन्यास पनि सांस्कृतिक अभ्यासको दस्ताबेज भएकोले गुरूङ जातिको संस्कृति रक्षाका लागि तीर्थ गुरूङले ठूलो योगदान दिएका उनले बताए ।

‘हिउँको गीत आफैँमा रुपक हो, अलङ्कार हो,’ उनले थपे, ‘यसमा मायावी खालको यथार्थता भेटिन्छ, रियल र फेन्टासी पनि छ ।’ ‘फिक्सन’भित्रको ‘मेटाफिक्सन’ पाइने उपन्यासको विषयवस्तु हेर्दा राजनीतिसमेत लुकेको पाइएको उनको भनाइ छ । तर, कथाको सुन्दर बुनोट र शैली कलात्मक भएर पनि कथा भने अलि लामो भएको प्रतिकृया दिए । ‘समग्रमा यो कृति आफैँमा एउटा चलचित्र हो । यसलाई गुरूङ समुदायले एउटा चलचित्र नै बनाइदिए राम्रो हुन्थ्यो,’ उनले भने ।

प्राध्यापक पदमलाल भारतीले नेपाली साहित्य बजारमा उच्चकोटीको आख्यान भित्रिएको बताए । शीर्षक हेर्दा कविताजस्तो लागे पनि आख्यानमार्फत् समाजको चित्र र इतिहास बोल्ने काम गरेको उनले बताए । ‘गुरूङ समुदायमा प्रचलित ब्रिटिस लाहुरेको कथा र पशुपालनसँगै खेतीपातीलाई पनि उपन्यासले जोडेको छ,’ उनले भने, ‘कथामा मायाप्रेम, द्वन्द्व, रुढीवादी परम्परा, अन्धविश्वास, वास्तविकता सबै पाइन्छ । त्यसकारण यो उपन्यासमा महाभारतमा पाइने आयाम पाइन्छ ।’

अर्कोतर्फ पच्यु, घ्याप्रीले अस्तित्व जोगाउन गरिएको सङ्र्षलाई पनि उपन्यासले समेटेको उनको भनाइ छ । उपन्यासमा वर्तमान, विगत, वर्तमान भेटिने हुँदा कथाले विगत र वर्तमानलाई एकै ठाउँमा मिसाउन खोजिएको उनले बताए ।

लेखकको व्यक्तित्वबारे चर्चा गर्दै कवि एवम् सर्जक भूपिन खड्काले भने ‘पाठशाला’, ‘आप्पा क्हार्पा’ हुँदै ‘हिउँको गीत’सम्म आइपुग्दा तीर्थ गुरूङले गुरूङ समुदायको कथालाई साहित्यमार्फत् सार्वजनिक गर्ने काममा सफलता हासिल गरेको बताए । आफैँमा मिर्गौलाको समस्याबाट ग्रस्त भइकन पनि लेखनलाई निरन्तरता दिँदै आएको बताए । विगत ३४ वर्षदेखि सङ्गतमा रहेको बताउँदै उनले भने, ‘व्यक्तित्व हेर्ने हो भने अलि अन्तरमुखी स्वभावको हुनुहुन्छ । तर, लेखनमा शक्तिशाली हुनुहुन्छ ।’

कवि माया घोताने गुरूङले हिउँको गीत उपन्यासमा तमू किम्बदन्तीअनुसार ‘म्याजिकल रियलिजम्’ पाइने बताइन् । ‘रुख हिँड्न सक्छ, ढुङ्गा माटो बोल्न सक्छ, मान्छे पनि जनावर बन्न सक्छ,’ उनले भनिन्, ‘उपन्यासमा यस्ता विषयले स्थान पाएको छ । यो आदिवासी जनजातिको संस्कृति हो । साहित्यमा यो नौलो प्रयोग पनि हो ।’ अर्को कुरा गुरूङ जातिमा छोरा र छोरीको मह¤व समान छ भन्ने सन्देश दिन उपन्यास सफल भएको पनि उनले बताइन् । ‘हाम्रो समुदायमा छोराको जति अस्तित्व छ, छोरीको पनि उत्तिकै छ, जुन कुरा हिउँको गीतले पनि बुझाएको छ,’ उनले भनिन् ।

- ADVERTISEMENT -