नुवाकोट / नुवाकोटबाट काठमाडौँतर्फ आउँदै गरेको एक विद्युतीय माइक्रोबस आइतबार शिवपुरी गाउँपालिका–७, गुरुङगाउँमा दुर्घटनाग्रस्त हुँदा नौ जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानकारीअनुसार, दुर्घटनामा पाँच महिलासहित नौ जनालाई चोटपटक लागेको हो ।
बागमती प्रदेश ०३–००१ ज ०८५४ नम्बरको उक्त माइक्रोबस सडकबाट करिब १० मिटर तल कान्लामुनि खसेर दुर्घटनामा परेको नुवाकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) विक्रम लामाले जानकारी दिए ।
- ADVERTISEMENT -

घाइते सबैलाई थप उपचारका लागि काठमाडौँस्थित विभिन्न अस्पतालमा पठाइएको छ । दुर्घटनालगत्तै प्रहरीले माइक्रोबसका चालक ३६ वर्षीय रवि बस्नेतलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
दुर्घटनामा घाइते हुनेहरूमा नुवाकोटको लिखु गाउँपालिका(४, चौघडाकी ३९ वर्षीया मैना राई, काठमाडौँको महाराजगञ्जकी ४६ वर्षीया लक्ष्मी खड्गी, काठमाडौँको गोंगबुकी ३५ वर्षीया सिर्जना लामा, नुवाकोटको विदुर नगरपालिका(५, माझिटारकी १८ वर्षीया बिपना अर्याल, नुवाकोटको शिवपुरी, तलाखुका २८ वर्षीय रसमान लामा र सोही स्थानका १८ वर्षीय विजय लामा रहेका छन् ।
त्यसैगरी, काठमाडौँको कलंकी बस्ने ३९ वर्षीया सरस्वती राई, सोही स्थानका ३८ वर्षीय श्याम दगौरा र रसुवाको उत्तरगया गाउँपालिका(५ का २५ वर्षीय महेन्द्र श्रेष्ठ पनि घाइते भएका छन् । दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















































