काठमाडौं / विपक्षी दलहरूको अवरुद्ध गर्ने चेतावनीबीच आज (मंगलबार) प्रतिनिधिसभाको बैठक बस्दैछ । भिजिट भिसा प्रकरणलाई लिएर सत्तारूढ गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसद् बैठक अवरुद्ध गर्न एकमत भएका हुन् ।
बजेट प्रस्तुत भएपछि पहिलो पटक बस्न लागेको प्रतिनिधिसभा बैठक बिहान ११ः०० बजेका लागि तय गरिएको छ । तर, विपक्षीको अवरोधका कारण बैठक अवरुद्ध हुने पक्का देखिएको छ । सोमबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणलाई गम्भीर मान्दै गृहमन्त्री लेखकको तत्काल राजीनामा माग गरेको छ । त्यही निर्णयअनुसार पार्टीले आजको संसद् अवरुद्ध गर्ने तयारी गरेको हो ।
- ADVERTISEMENT -

रास्वपाले पनि सोमबार बसेको संसदीय दलको बैठकबाट संसद् बैठक सुचारु हुन नदिने निर्णय लिएको छ । रास्वपाका अनुसार जबसम्म गृहमन्त्री लेखकले पदबाट राजीनामा दिन्नन् र प्रधानमन्त्रीले सदनमा स्पष्ट जवाफ दिन्नन्, तबसम्म संसद्को कुनै कारबाही अघि बढ्न दिइने छैन ।
प्रतिनिधिसभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ । राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै ‘प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव समेत सभामा प्रस्तुत हुनेछ । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दैछ ।


















































