काठमाडौँ / इजरायल र इरानबिचको युद्धको अन्त्यको माग गर्दै मानवअधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ ।
समाजले बुधवार काठमाडौँस्थित इजरायल दूतावास र इरानी वाणिज्य दूतावास अगाडी शान्तिको कामना गर्दै प्रदर्शन गरेको हो । मानवअधिकार तथा शान्ति समाजले सुरु गरेको युद्धका विरुद्धको अभियान स्वरूप प्रदर्शन गरिएको हो ।
- ADVERTISEMENT -

समाजका सभापति रेनुका पौडेलले इजरायली दूतावास अगाडी आधा घण्टा र इरानी वाणिज्य दूतावास पनि आधा घण्टा प्रदर्शन गरेको बताए । उनले संसारको जुनसुकै कुनामा भएको युद्धबारे आफूहरू चुप नबस्ने बताए । उनले इजरायल र इरानबिचको युद्ध तत्काल रोकिनुपर्ने आग्रहसहित प्रदर्शन गरिएको बताए ।
उनले भने ‘मानवअधिकार तथा शान्ति समाजमा पछिल्लो समय इजरायल र इरानबिचमा जुन खालको युद्ध भइराखेको छ, त्यसताविरुद्ध अभियान सञ्चालन गरेको छ । त्यो अन्तर्गत हामीले आज मात्रै इजरायली दूतावास अगाडी आधा घण्टा प्रदर्शन गरेका थियौँ भने इरानी कन्सुलेट कार्यालय अगाडी पनि प्रदर्शन गर्यौ । संसारको जुनसुकै कुनामा भएको युद्ध पनि हामी चुप लागेर बस्न सक्दैनौँ । इजरायल र इरानबिचको युद्ध तत्काल रोकिनुपर्छ भन्ने आग्रहसहित प्रदर्शनमा छौँ ।’
- ADVERTISEMENT -

समाजका संस्थापक सभापति कृष्ण पहाडीले इरानले मानवअधिकारलाई सम्मान गर्नुपर्ने बताए । उनले इरानले लोकतन्त्रलाई बहाली नगर्दा एक्लो हुनुपरेको बताए । उनले इजरायलले पहिले यो युद्ध सुरु गरेको कारणले इजरायलले शान्तिको लागि पहल गर्नुपर्नेमा जोड दिए । उनले युद्ध रोक्न संयुक्त राष्ट्रसंघसहितका शक्तिशाली राष्ट्रहरू निरीह देखिएको आरोप लगाए ।
उनले कसैको पक्ष नलिई युद्धको विपक्ष र शान्तिको पक्षमा उभिन सबैलाई आह्वान गरे ।
उनले भने ‘इरानले मानवअधिकारलाई सम्मान गर्नुपर्छ र लोकतन्त्र बहाली गर्नुपर्छ । त्यस्तो नहुँदा आज इरान एक्लो भएको छ । इजरायलले पहिले यो युद्ध सुरु गरेको हुनाले इजरायलले शान्तिको लागि पहल पनि गर्नुपर्छ । हाम्रो नारा छ, कूटनीति ग्रहण गर । युद्धलाई टार । संयुक्त राष्ट्रसङ्घ निरीह देखियो । शक्तिशाली राष्ट्रहरू पनि निरीह देखिए । हामी कसैको पक्ष नलिई युद्धको विपक्षमा उभिन आह्वान गर्दछौँ र शान्तिको पक्षमा उभिन आह्वान गर्दछौँ ।’
पछिल्लो केही दिनयता मध्यपूर्वमा इजरायल र इरानबिचको युद्ध झनै चर्किएको छ । मानव अधिकारकर्मीहरूले युद्ध रोक, शान्ति कायम गर, युद्ध मानवताको अपमान हो लगायतका प्लेकार्ड समेत बोकेका थिए ।















































