२०८२ कार्तिक ७, शुक्रबार
October 24, 2025
२०८२ कार्तिक ७, शुक्रबार
October 24, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

धार्मिक पर्यटन प्रबर्ध्दनमा देवघाट : गाउँपालिकाद्वारा प्रचार-प्रसारमा जोड

प्रकाशित मिति : २०८२ असार २३ गते
photo : tulman gurung
- ADVERTISEMENT -

तनहुँ / देवघाट गाउँपालिकाले पालिकाभित्र पर्ने ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा चासो देखाएको छ । गाउँपालिकाले एक चरण ती क्षेत्रको विकासमा काम गरे पनि बजेट पर्याप्त नहुँदा त्यसले पूर्णता पाउन सकेको छैन । तैपनि प्रचारप्रसारमार्फत ती क्षेत्रलाई बाहिर ल्याउने काममा यसपटक गाउँपालिकाले चासो दिएको हो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनमार्फत् प्रचारप्रसारको प्रयास गरिएको हो । ‘सञ्चार प्रचारप्रसारको लागि सबैभन्दा ठूलो माध्यम हो,’ गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा भन्छन्, ‘हामीसँग यति धेरै स्रोत छन् । तर, त्यसलाई बाहिर ल्याउन सकिएको छैन ’ त्यसकारण यसपटक कार्ययोजना नै बनाएर प्रचारप्रसारको प्रयास गरिएको उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

गाउँपालिकाले सञ्चारकर्मीहरुसहित क्षेत्र भ्रमण आयोजना गरेर फोनिज चितवनको टोलीले गतहप्ता देवघाटको विभिन्न क्षेत्रको अवलोकन भ्रमण गरेर फर्किएको छ । उनीहरुले भ्रमणका क्रममा देवघाटधामदेखि वडा नं.१ को गोपीटार सामुदायिक होमस्टे, छरछरे झरना, कराँदीप सामुदायिक होमस्टे, पालुराजाको मन्दिर, छिपछिपे, घण्टाचुली, प्याउलीगढी, सिञ्चाङगढी हुँदै फर्किएको छ ।

अवलोकनका क्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष तुलमान गुरूङले देवघाट क्षेत्रमा राम्रो सम्भावना रहेको कृषि र पर्यटनलाई प्रचारप्रसार गर्न फोनिजको भूमिका सधैँ सकारात्मक रहने बताए । उनले पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्नेहरुलाई बास बस्ने ठाउँको समस्या पनि नभएको हुँदा यहँँ सञ्चालित होमस्टेहरु एकापसमा मिलेर काम गर्ने हो भने यस क्षेत्रको विकासमा समस्या नहुने तर्क प्रस्तुत गरे । गाउँपालिकाभित्रै छरछरे झरनादेखि घण्टाचुलीसम्मको आकर्षक गन्तव्य हुँदासमेत यसबारे आवश्यक प्रचारप्रसार हुन नसक्दा ती सबै स्थान ओझेलमा परेको उनले बताए ।

गोपीटार सामुदायिक होमस्टेका अध्यक्ष शमशेर गुरूङले प्रचारप्रसार गर्न नसक्दा गोपीटार सामुदायिक होमस्टे ओझेलमा रहेको बताए । यस्तो अवस्थामा स्थानीयले मात्रै प्रयास गरेर सफल नहुने बताउँदै उनले भने, ‘स्थानीय सरकार र पत्रकार तथा सञ्चारकर्मीको भूमिका पनि उत्तिकै आवश्यक पर्दो रहेछ ।’

कराँदीप सामुदायिक होमस्टेका संस्थापक अध्यक्ष युवराज मगरले भने गोपीटार र कराँदीपमा सञ्चालित होमस्टेलाई व्यवस्थित तथा आगन्तुकको रोजाइमा ल्याउनको लागि सहकार्य आवश्यक रहेको बताए । बीचमा रहेको छरछरे झरनाको माध्यमबाट दुवै होमस्टेमा पाहुनालाई न्यानो आतिथ्य दिलाउन सकिने उनको बुझाइ छ ।

गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले पनि देवघाटको जुनसुकै क्षेत्र जाँदा पनि आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि गाँस र बासको समस्या नहुने बताए । भरतपुर तथा नारायणघाट क्षेत्रबाट नजिकदेखि टाढासम्मको दुरीमा सामुदायिक घरबास सञ्चालनमा रहेको हुँदा देवघाट गाउँपालिकाको कुनै पनि क्षेत्र घुम्न जाँदा बसोबासको समस्या नहुने उनले दाबी गरे । वडा नं.१ को गोपीटारदेखि वडा नं.२ को कराँदीप हुँदै वडा नं.३ को छिपछिपे, वडा नं.१ र २ मा पर्ने घण्टाचुलीलगायतका क्षेत्रमा बसोबास गर्न कुनै समस्या नरहेको उनले बताए ।

होमस्टेहरुले पनि स्थानीय परिकारका स्वाद चखाउँदै स्थानीय संस्कृतिमार्फत पाहुनालाई स्वागत गर्दै आएकोले देवघाट घुम्न आउने जोकसैले खान र बस्नदेखि मनोरञ्जनमा समेत मौलिकता पाइने अध्यक्ष मगरले बताए । कराँदीपमा बसेर खाल्टे, कोटबैदी, छिपछिपे हुँदै घण्टाचुलीसम्म पुगेर प्याउलीगढीको बाटो भएर सिञ्चाङगढी हुँदै गाईघाट झर्न सकिने बाटोको विकास भइसकेको उनले बताए । ‘अबका दिनमा ती सडकको स्तरोन्नती आवश्यकता हो,’ उनले भने, ‘हामी त्यसमा पनि प्रयासरत छौँ ।’ गाउँपालिकाले देवघाटका सबै नागरिकलाई कृषि र पर्यटनमार्फत् आम्दानीको स्रोत बढाउने योजनासहित काम गर्दै आएको उनले दाबी गरे ।

घना जङ्गल र कुहिरोमाथि आफू बसको महसुस गराउने घण्टाचुलीको डाँडोले जोकसैको ध्यान खिच्न सक्ने देखिन्छ । समुन्द्री सतहबाट करिब साढे १६ सय मिटरको उचाइमा रहेको घण्टाचुली जस्तोसुकै गर्मीको मौसममा पनि चिसो अनुभव गर्न सकिने ठाउँ हो । घण्टाचुलीबाट तल देखिने कुहिरो र त्यसले दिने शीतलताले मनै आनन्द तुल्याएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका उपाध्यक्ष उर्गेन तामाङ बताउँछन् ।

चितवनबाट नजिकैको दुरीमा रहेर पनि प्रचारप्रसार नहुँदा यति सुन्दर ठाउँ पनि चर्चामा आउन नसकेको उनले सुनाए । चितवन बसाइका करिब डेढ दशक बिताइरहेका पत्रकार तामाङले पहिलोपटक पाइला टेक्ने अवसर पाएको बताए । ‘यस्तो ठाउँको बारेमा सबैभन्दा पहिले स्थानीयले ध्यान दिन जरूरी छ,’ उनी भन्छन्, ‘स्थानीयलाई सरकारले सघाउनु पर्छ । त्यसपछि प्रचारप्रसारको लागि हामीजस्ता सञ्चारकर्मीहरुको भूमिका मह¤वपूर्ण रहन्छ ।’

समग्र देवघाटको विकासका लागि गाउँपालिकाले कृषि र पर्यटन प्रवद्र्धनको कार्यक्रमलाई समेट्ने प्रयास हरेक वर्ष गरे पनि उक्त बजेट पर्याप्त नहुँदा सोचेजस्तो काम हुन सकेको छैन । तैपनि गाउँपालिकाले प्रयास गर्न नछाडेको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले बताए । हरेक वर्ष थोरैथारै बजेटमा काम गर्दा सोचेजस्तो प्रतिफल आउन अलि लामो समय पर्खिनु पर्ने बाध्यता रहेको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -