चाडबाडको बहानामा अनावश्यक मूल्य वृद्धि, खाद्यान्नको कृत्रिम अभाव र कालोबजारी नियन्त्रणमा बजार आगमनको ठूलो भूमिका रहेको हुन्छ । अहिले बजारमा उपभोग्य वस्तुको मूल्य वृद्धि त सामान्य विषय भएको छ । योभन्दा जटिल त अखाद्य पदार्थको बिक्री वितरण हुने गरेको पाइएको छ । चाडपर्वको मौका छोपेर कालोबजारीले अखाद्य पदार्थको बिक्री वितरण गर्ने समस्या पनि नेपाली बजारमा नौलो रहेको छैन । उपभोक्ता कति सचेत छन् ? आफ्नो स्वास्थ्यप्रति कति संवेदनशील छन् ? आफूले खरिद गर्ने सामग्रीको गुणस्तरमा कति ध्यान दिन्छन ? यस्ता सवालको खोजी गर्न सकिए कसैले पनि सजिलै ठग्न सक्दैन । व्यापारीको काम व्यापार गरेर नाफा कमाउनुमात्र होइन । ग्राहकको सेवा र सन्तुष्टिबारे चासो राख्नु पनि हो । परम्परागतरुपमा व्यापार गर्नेहरु आफ्नो व्यवसायको साखप्रति ध्यान दिएका हुन्छन् । धेरै नाफा होइन, ग्राहकलाई गुणस्तरीय सामान बेच्न लालायित हुन्छन् । तर, अहिले व्यापारमा साख होइन, मार्जिन धेरै चाहिएको हुन्छ । ग्राहकको स्वास्थ्यसँग होइन, नाफा कमाउनुसँग सरोकार रहेको हुन्छ ।
चितवनका बजारमा बेलाबेलामा सरोकारवाला निकायले बजार अनुगमन गर्दै आए पनि अखाद्य पदार्थको नियन्त्रण हुन नसक्नु विडम्बना हो । चितवन प्रशासन र स्थानीय सरकारहरुले बजार अनुगमन गर्दै आए पनि उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरी बजारमा गुणस्तरहीन सामान बेच्नेहरु सक्रिय भइरहेका छन् । खाद्य वस्तुमा मिसावट गर्ने, कमसल सामग्रीलाई महँगो मूल्यमा बेच्ने र अखाद्य तथा म्याद गुज्रेका सामान बिक्री भइरहेका पाइन्छन् । खाद्य पदार्थको गुणस्तरका लागि उद्योगहरुमा अनुगमन बढाउने, व्यापारीका स्टोरहरुमा जाँच गर्ने, गुणस्तरहीन उत्पादन गर्ने कम्पनीलाई सिलबन्दी गरी सञ्चालकलाई कारबाही गर्ने र अनुगमनमा भेटिएका गुणस्तरहीन सामग्री तथा अखाद्य वस्तुको तत्कालै नष्ट नगरेसम्म उपभोक्ता नै पीडित भइरहनेछन् । खाद्य सामग्रीको उत्पादन मिति र उपभोग गर्ने मिति राम्रोसँग हेरेरमात्रै खरिद गर्ने अभ्यास हुनु उत्तिकै आवश्यक छ ।
- ADVERTISEMENT -

बजारमा बिक्री वितरण हुने खाद्य वस्तुहरुका सम्बन्धमा उपभोक्ता स्वयंले सरोकार राख्नुपर्छ । छिटो सामान बिक्री गर्ने र नाफा कमाउनुसँग व्यापारीको सरोकार रहने भएकाले उनीहरुलाई उपभोक्ताको हितबारे चासो रहँदैन । अझै पनि उपभोक्ताको हितविपरीतका सामान बिक्री गर्दा, अस्वाभाविक मूल्य वृद्धि गर्दा, अखाद्य सामग्री बेच्दा कारबाहीमा परिन्छ भन्ने डरत्रास व्यापारीमा रहेको पाइँदैन । व्यापारीको गोदाम कहाँ कहाँ छ ? कुन गोदाममा कस्ता खालका सामान राखिएका छन् ? त्यसबारे प्रशासन अनभिज्ञ नै छ । प्रशासनले चाडबाडको समयमा मात्र होइन, बजारमा दिनहुँ भइरहेका ठगीबारे अनुगमन बढाउनुपर्छ । गुणस्तरहीन खाद्य वस्तुको प्रयोगले झाडापखाला, टाइफाइड, कमलपित्त, पाचनप्रणाली, कलेजो र मिर्गौलासम्बन्धी रोग लाग्छ । अहिले खाने तेल, दूध उद्योग, पिउने पानी, चामल, दाल, चिया, मिठाई, बेसन, बिस्कुटलगायतका उद्योगबाट गुणस्तरहीन सामग्री बिक्री भएको पाइएको छ । उपभोक्ताले कुनै पनि वस्तु प्रयोग गर्दा खाद्य वस्तुको नाम, उत्पादकको ठेगाना, ब्याच नं, उत्पादन मिति, उपभोग्य मिति, सम्मिश्रण गरिएका खाद्य वस्तुहरुको नाम, लेबलको बारेमा जानकारी लिनुपर्छ । अखाद्य पदार्थ बेच्नु अपराध भएकाले यस्ता कार्य बन्द गर्नु जरूरी देखिन्छ ।
























