काठमाडौं / नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार दिनभरको रस्साकस्सी र अनिर्णयपछि आज (बुधबार) बिहान बस्ने भएको छ । संस्थापन र असन्तुष्ट पक्षबीचको विवादका कारण मंगलबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, बुधबारको बैठकका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा सातै प्रदेशका सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि पत्राचार गरिएको छ । तर, पार्टीभित्रको आन्तरिक समीकरण पेचिलो बन्दा बैठक सौहार्दपूर्ण हुने सम्भावना भने कम छ ।
- ADVERTISEMENT -

विशेषगरी महाधिवेशनको कार्यतालिका र मोडालिटीमा कुरा नमिल्दा कांग्रेस राजनीति दुई ध्रुवमा बाँडिएको छ । मंगलबार दिनभर सहमतिका लागि भन्दै नेताहरू वार्तामा जुटे पनि निष्कर्ष निस्कन सकेन । जसको फलस्वरुप, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व गरेको ‘विशेष महाधिवेशन’ पक्षधर समूह आजको बैठकमा अनुपस्थित हुने भएको छ ।
महामन्त्रीद्वय थापा र शर्माले भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहेको भन्दै आफूहरू संस्थापन पक्षले डाकेको बैठकमा सहभागी हुन नसक्ने स्पष्ट पारिसकेका छन् । संस्थापन पक्षले पेलेरै जाने नीति लिएको हो वा सहमतिको ढोका अझै खुला छ भन्ने कुरा आजको बैठकले तय गर्नेछ ।
- ADVERTISEMENT -
















































