भरतपुर / महाबौद्ध संघ–नेपालले भरतपुर महानगरपालिका–१७, रामपुरमा ‘हिमालयन बौद्ध मृत्यु संस्कार प्रश्नोत्तर तथा वृहत् सामाजिक एकता अभियान–२०८३’ सम्पन्न भएको छ ।
आइतबार आयोजित कार्यक्रममा भरतपुर महानगरपालिका–२०, चन्द्रनगरकी ९९ वर्षीया आशमाया तामाङ प्रमुख अतिथि रहेकी थिइन् भने नेपाल तामाङ लामा घेदुङका केन्द्रीय अध्यक्ष तथा धर्मगुरु पाल्देन लामा प्रमुख वक्ताका रूपमा सहभागी भएका थिए । प्रमुख अतिथि तामाङ र धर्मगुरु लामाले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
- ADVERTISEMENT -

कार्यक्रममा धर्मगुरु पाल्देन लामाले हिमालयन बौद्ध मृत्यु संस्कारको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे विस्तृत प्रवचन दिए । उनले मृत्यु संस्कारसँग सम्बन्धित सहभागीहरूले उठाएका विभिन्न जिज्ञासा र प्रश्नहरूको धार्मिक आधारसहित स्पष्ट तथा विस्तृत जवाफ दिएका थिए ।
सो अवसरमा धर्मगुरु पाल्देन लामालाई विभिन्न संघ–संस्था, सामाजिक अगुवा तथा स्थानीय समुदायका प्रतिनिधिहरूले स्वागत तथा सम्मान गरेका थिए ।
- ADVERTISEMENT -

कार्यक्रममा विभिन्न बौद्ध गुम्बाका लामा गुरुहरू, संघ–संस्थाका पदाधिकारी, समाजसेवी, स्थानीय बासिन्दा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमले हिमालयन बौद्ध मृत्यु संस्कारबारे सही र प्रमाणिक जानकारी प्रवाह गर्नुका साथै सामाजिक सद्भाव, आपसी एकता तथा सांस्कृतिक संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास संघको छ ।
कार्यक्रमको सभापतित्व महाबौद्ध संघ–नेपालका अध्यक्ष मेकना तामाङले गरे भने सञ्चालन महासचिव कृष्ण लामाले गरेका थिए ।



















































