– बबिलाल तामाङ
शक्तिखोर । वर्खा लागेपछि हरेक वर्ष कयर खोलाले विभिन्न प्रकारको क्षति पु¥याउँदै आएको छ । सिद्धि क्षेत्रबाट तीन धार भएर बग्दै आउने यो खोलाले वर्षेनि मानवीय क्षतिसमेत पु¥याउँदै आएको छ । विशेष गरी तीन दोभानबाट पाइमाराङ खोलाको बाटो भएर यात्रा गर्ने स्थानीय बढी प्रभावित छन् ।
तर, आगामी वर्षदेखि सिद्धिवासीले त्यति ठूलो समस्या झेल्न नपर्ने सङ्केत देखिएको छ । तीन दोभानमा पक्की पुल निर्माणको अन्तिम चरणमा रहेको हुँदा सिद्धिवासीमा थोरै भए पनि राहतको आभाष मिलेको छ । कालिका नगरपालिकाको चार करोड ३८ लाख ६७ हजार ८५५ रुपैयाँ लागतमा पक्की पुल बनेपछि वर्खे यात्रामा पनि केही सहज हुने देखिएको हो ।
- ADVERTISEMENT -

निर्माण कम्पनीले बताएअनुसार डेढ वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको पुलको काम अबको दुई महिनाभित्र सम्पन्न हुनेछ । ‘सम्झौताअनुसार आउँदो पुस मसान्तसम्म म्याद छ,’ निर्माण कम्पनीका सुपरभाइजर एवम् सव इन्जिनियर जागेश्वरप्रसाद साहले भने, ‘तर, हामी यो सबै काम दसैँअघि नै सक्छौँ ।’ जम्मा ४० मिटर लम्बाइ रहेको पुलको स्पान निर्माणको काम सकिएको हुँदा सानोतिनो काममात्रै बाँकी रहेको उनको भनाइ छ ।
‘अब छेउछाउको काम मात्रै बाँकी रह्यो,’ उनले भने, ‘मुख्य काम नै सम्पन्न भइसकेको हुँदा स्पानको अगाडि पछाडिको भागमा ग्राभेल फिलिङ गरेपछि सवारी हिँडाउन मिलिहाल्छ ।’
यति हुँदाहुँदै पनि कालिका नगरपालिका वडा नं.१० का नागरिकलाई वर्खे यात्रामा पूर्ण राहत भने मिल्ने छैन । किनकि तीन दोभानबाट पाइमाराङ खोलाको किनारैकिनार यात्रा गर्नुपर्ने स्थानीयले अझै पनि ठाउँठाउँमा जङ्घार तर्नुपर्ने बाध्यता छ । त्यसकारण एउटा पुलले मात्रै सिद्धिवासीको यात्रामा देखिएको समस्या समाधान नहुने कालिका नगरपालिका वडा नं.१० नान्दरका यमप्रसाद चेपाङ बताउँछन् ।
सामान्य नुनतेलको लागि सिद्धि बजार झर्दा अहिल्यै पनि ठाउँठाउँमा खोला तर्नुपर्ने भएकोले यात्रा सहज नभएको उनी बताउँछन् । ‘शक्तिखोर बजारबाट सडक निर्माण, स्तरोन्नति र पुल पुलेसा निर्माणको काम बिस्तारै माथि उक्लिएको छ,’ उनले भने, ‘तीन दोभानभन्दा माथि पनि समय आएपछि सडक पनि राम्रै बन्ला । आवश्यक पर्ने ठाउँमा पुल पुलेसा पनि बन्ला ।’
अहिले मध्य वर्खा भएकोले स्थानीयलाई सात्रामा सहज होस् भनेर पुलको दुईतिरै निर्माण कम्पनीले अस्थायी भ¥याङ निर्माण गरिदिएको छ ।
खोला बढ्दा त्यही भ¥याङको प्रयोग गरेर ओहोरदोहोर गरिरहेका छन् । खोलानाला बढेसँगै ग्रामीण सडक नाजुक भएपछि सवारीसाधन गाउँ उक्लिन छाडिसकेको छ । जसकारण नुनतेल पनि बोकेरै खाइरहेका छन् ।

















































