चितवन / नेपालमा आएको प्राकृतिक विपत्ति भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनपीओ होजिन नेपाल तामाङ समाज जापानले ६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
समाजका महासचिव देबेन्द्र योञ्जन तामाङका अनुसार समाजले पहिलो चरणमा उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
- ADVERTISEMENT -

देश गम्भीर प्राकृतिक विपत्ति तथा मानवीय संकटबाट गुज्रिरहेको अवस्थालाई मध्यनजर गर्दै समाजले आयोजना गर्न लागेको ‘डम्फू सेलो म्हेन्दोमाया तथा सांस्कृतिक साँझ–२०२६’ समेत स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।
कार्यक्रम स्थगित गरिएसँगै त्यसका लागि छुट्याइएको खर्चसमेत विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा सहयोगमा प्रयोग गरिने समाजले जनाएको छ । समाजका अनुसार विपद्को समयमा मनोरञ्जनात्मक कार्यक्रमभन्दा प्रभावित नागरिकको उद्धार तथा राहतलाई प्राथमिकता दिन कार्यक्रम स्थगित गरिएको हो ।
नेपाल तामाङ समाज जापानले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बाढीका कारण विस्थापित तथा प्रभावित नागरिकप्रति सहानुभूति प्रकट गरेको छ ।
विपद्को कठिन परिस्थितिमा स्वदेश तथा विदेशमा रहेका नेपाली, विभिन्न संघ–संस्था, व्यवसायी तथा शुभेच्छुकहरूलाई आ–आफ्नो स्थानबाट उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सक्दो सहयोग गर्न समाजका अध्यक्ष गिरबहादुर घिसिङ तामाङले अपिलसमेत गरेको छ ।
मातृभूमिमा आइपरेको विपत्तिमा पीडित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाल तामाङ समाज जापानको साथ, सहयोग र ऐक्यबद्धता निरन्तर रहने प्रतिबद्धता समाजले व्यक्त गरेको छ ।















































