काठमाडौं / वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकमाथि भएको ठगी प्रकरणको अनुसन्धानका क्रममा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट अर्यालविरुद्ध पक्राउ अनुमति लिएको हो ।
नेपाल र मलेसिया सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौताविपरीत मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी ठगी गरेको आरोप अर्यालमाथि लागेको छ । पक्राउ पुर्जी जारी भएसँगै उनी हाल सम्पर्कविहीन रहेको प्रहरी स्रोतले जनाएको छ ।
यसअघि यही प्रकरणमा संलग्न रहेको आरोपमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई नियन्त्रणमा लिइसकेको छ । पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव रहेका छन् ।
त्यस्तै, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख एवं सहसचिव उमेश ढुंगाना, राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत एवं उपसचिव निर्मला गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
- ADVERTISEMENT -

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जाहेरीका आधारमा सीआईबीले यस प्रकरणको विस्तृत अनुसन्धान अघि बढाएको हो । हाल पक्राउ परेका व्यक्तिहरूमाथि अदालतबाट म्याद थप गरी ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

















































