March 29, 2024

चितवनमा राष्ट्रिय परिचयपत्र वितरण शुरु

March 24, 2021

चितवन / जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया शुरु गरेको छ । विसं २०७६ साउन मसान्तसम्म सङ्कलन भएका विवरणको परिचयपत्र बनेर आइसकेको र वितरण प्रक्रिया शुरु गरिएको कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी खेमराज पौडेलले जानकारी दिए ।
उनका अनुसार जिल्लामा चार हजारको परिचयपत्र आइसकेको छ । परिचयपत्र आएसँगै वितरणको प्रक्रिया शुरु गरिएको उनले जानकारी दिए । यही चैत ४ गतेदेखि वितरणको काम शुरु गरिएको उनले बताए । उनले भने, “राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया चैत ४ गतेदेखि शुरु भएको छ । अहिलेसम्म १०५ जनाले परिचयपत्र लगिसकेका छन् ।” शुरुमा आँखाको आकार नलिइएको हुँदा परिचयपत्र आएकाहरूलाई स्वयं उपस्थित गराएर आँखाको आकारको चित्र लिएरमात्रै वितरण गर्दै आएको उनले बताए ।
“शुरुको चरणमा विवरण दर्ता गरेका सेवाग्राहीको आँखाको रेटिना लिइएको थिएन, त्यसैले हामीले व्यक्ति स्वयंको उपस्थितिमा मात्रै हाम्रो सिस्टममा राखेर दिने गरेका छौँ”, उनले भने । सेवाग्राहीलाई प्रशासन कार्यालयले आधिकारिक फेसबुक पेजबाट सूचना जारी गरेर कार्ड लिन आउन आग्रह गरे पनि तुलनात्मकरुपमा कार्ड लिन आउनेको सङ्ख्या कम रहेको उनको भनाइ छ ।
छुटेका र नयाँ नागरिकता लिन आउने सेवाग्राहीलाई भने प्रशासन कार्यालयबाटै विवरण सङ्कलन गराइरहेको सूचना अधिकारी पौडेलले बताए । हाल दैनिक सरदर ८० देखि ९० जनाको विवरण सङ्कलन हुँदै आएको उनले जानकारी दिए । सरकारले व्यक्तिको सबै विवरण परिचयपत्रमै समावेश गरेको छ ।
राष्ट्रिय परिचयपत्रका लागि चितवनबाट हालसम्म तीन लाख ११ हजार ४७१ जनाले विवरण दर्ता गरेका छन् । विसं २०७६ असार १९ गतेबाट विवरण सङ्कलन शुरु भएको हो ।रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -