‘जनताको चाहना अनुसारकै बजेट ल्याउँछौँ’ – अध्यक्ष मल्ल

0
48

मकवानपुर \ राक्सिराङ गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम निर्माण, बजेट तर्जुमा लगायतका विषयमा सरोकारवालाहरुसँग छलफल तथा सुझाव संकलन गरेको छ ।
स्थानीय राजनीतिक दलहरु, विद्यालय, सहकारी, टोल विकास संस्था, पत्रकार लगायत विभिन्न सरोकारवालाहरुको सल्लाह सुझाव अनुसार सर्वमान्य बजेट ल्याउने योजनाका साथ छलफल गरिएको हो । कार्यक्रममा सहभागीहरुले गाउँपालिकाले पुर्वाधार विकासमा प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए । पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा तथा बिपद न्यूनीकरणका लागि पर्याप्त बजेट व्यवस्थापन गर्न उनीहरूले आग्रह गरे ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य ओमबहादुर घलानले सरकार र जनताबीचको दुरी घटाउन विभिन्न योजना तय गर्नुपर्ने बताए । त्यसका लागि स्थानीय तहले विभिन्न योजना बनाएर काम गर्नुपर्ने र प्रदेश सरकारलेसमेत सहयोग गर्ने उनको भनाइ छ ।
उनले मनहरि, राक्सिराङ र कैलाश गाउपालिका हँुदै चीन पुग्ने सडक निर्माणमा जोड दिनुपर्ने बताए । अर्का प्रदेस सभा सदस्य सन्तबहदुर चेपाङ्गले चेपाङ्ग, तामाङ समुदायको बाक्लो बसोबास रहेको क्षेत्रमा समुदायमैत्री बजेट बन्नुपर्ने बताए ।
उनले दिगो र जनतालाई सुविधा हुने गरी योजना बनाउन आग्रह गरे । त्यसबाहेक बिषयगत समितिमा भएका समस्या समाधानका लागि बजेट बन्नुपर्ने सहभागीहरुले बताए । कृषिमा अनुदान, बजारीकरण, विभिन्न प्रविधिक सेवा तथा सुविधा, प्राविधिक शिक्षामा जोड, सर्वसुलभ स्वास्थ्य सेवा, वन वातावरणको संरक्षण लगायतका लागि समेत गाउँपालिकाले कार्यक्रम बनाउनुपर्ने उनीहरुको माग छ ।
नेपाल कम्यूनिष्ट पार्टीले प्रत्येक वडालाई सिलिङ बजेटको रुपमा उपलब्ध गराउदै आएको रकमलाई निरन्तरता दिन आग्रह गरेको छ । गाउँपालिका कमिटिका अध्यक्ष हस्तबहादुर मोक्तानले यसवर्ष सिलिङ बजेट कटौती गर्ने हल्ला सुनिएकाले त्यसो नगर्न सुझाव दिए ।
ठूला योजनाका लागि वडामा बजेट नहुँदा वडा अध्यक्षको मनोबल घट्ने र कार्यक्षमतामै ह्रास आउन सक्ने नेकपाको तर्क छ । मोक्तानले गाउपालिकाको विभिन्न पूर्वाधार विकास अधुरो रहेकाले त्यसलाई पूर्णता दिन आग्रह गरे । नेपाली कांग्रेसका गाउँपालिका सभापति बिरेन्द्र जिम्बाले भने ठूला योजनाहरु गाउँपालिकाबाटै सम्पन्न हुँदा सहज हुने बताए । ठूला बजेटका कामहरु वडाबाट प्रभावकारी नदेखिएकाले सिलिङ बजेटबारे विज्ञहरुसँग परामर्श लिई गाउँपालिकालाई सहज हुने गरी निर्णय गर्न उनको सुझाव छ ।
नेकपा इन्चार्ज बनस्तम थिङ्गले गाउँपालिकामा विकास निर्माण चित्तबुझ्दो नभएको दाबी गरे । उनले जनप्रतिनिधिले आफूखुसी विकासको नक्सांकन गर्नाले जनता लाभान्वित हुन नसकेको बताए । उनले पार्टीको कार्यकर्ता र कर्मचारीलाई लाभ हुने गरी बजेट दुरुपयोग हुने गरेकोसमेत आरोप लगाए । अबको बजेटमा जनताले महसुस हुने विकास र कार्यक्रम ल्याउन उनले जोड दिए ।
यस्तै, गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सबै दल, समुदाय, संघसंस्था र जनताको चाहाना अनुसारकै बजेट ल्याइने बताए । विगतका कमिकमजोरीलाई सुधार्दै जनताले प्रत्यक्ष महसुस गर्ने जनतामैत्री बजेट निर्माण गरिने उनको भनाइ छ । उनले गाउँपालिकालाई कोरोनामुक्त राख्नेदेखि, चट्याङ मुक्त बनाउनेसम्मको योजना बजेटले समट्ने उल्लेख गरे । पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासमा उल्लेख्य सुधार गरिने र प्रभावकारी योजना बनाइने उनले बताए ।
उनले गाउँपालिकालाई सन्चारमैत्री बनाइने, उद्योग कलकारखाना स्थापना मा जोड दिइने, पर्यटन विकास र साँस्कृतिक प्रबर्धनमा लगानी गर्नेलगायत योजना बजेटमा समेटिने जानकारी दिए । ठूला योजनाहरु वडा र गाउँपालिकाको समन्वयमा गरिने र सिलिङ बजेटबारे छलफल गरिने उनले बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले नीति तथा कार्यक्रम बन्ने क्रममा रहेकाले सबैको राय सुझाव संकलन गर्न कार्यक्रम गरिएको बताए । कार्यक्रममा उपाध्यक्ष निर्मला हिम्डुङले स्वागत मन्तव्य राखेकी थिइन् ।