सबैका प्यारा, अलबिदा मदन सर

0
799


संसारमा हरेक मानिसको जन्मपछि मृत्यु प्राकृतिक नियम हो । जन्मपछि मृत्यु शाश्वत सत्य हो, जुन हामीले नचाहेर पनि स्वीकार्नै पर्छ । यो संसारमा अमर कोही छैन । संसार परिवर्तनशील छ । नचाहेर पनि प्रकृतिको अगाडि हामीले घुँडा टेक्नै पर्छ । कर्मको आधारमा मानिसको नाम अमर रहन्छ । बाचुञ्जेल गरेका राम्रा कर्मले मानिसलाई मृत्युपश्चात पनि जिवन्त राख्ने गर्दछ ।
वि.सं. २०७८ असार ३० गते काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा मदनप्रसाद सापकोटाको निधन भयो । उहाँको निधनले अहिले भरतपुर–२, क्षेत्रपुर अवस्थित महानगर फलफूल तथा तरकारी बजारका सम्पूर्ण व्यवसायी शोकाकुल बनेको छ । फलफूल तथा तरकारी बजार परिवारलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनले हामी सबैले एउटा अति मिलनसार, सहयोगी, कर्मठ, सामाजिक एवम् धार्मिक व्यक्तित्व गुमाएका छौं । स्व सापकोटाको निधनले सिंगो फलफूल तथा तरकारी बजार मात्र नभएर उहाँका निकटतम साथीभाइ, शुभचिन्तक सबैसबैमा आश्यर्चचकित बनाएको छ ।
जोकोहीलाई पनि पत्याउनै नसकिने घटनाले पूरै तरंगित बनाएको छ । सबैका प्यारा स्व मदनप्रसाद सापकोटा रिस, डाह कहिल्यै जानेनन् । हरेकका समस्या समाधानका लागि अग्रपंक्तिमा रहेर काम गर्नुहुन्थ्यो । हँसिलो मुद्राका उहाँ सधैँ सबैलाई सहयोग गर्न रुचाउनु हुन्थ्यो । घर परिवार इष्टमित्र, समाजसेवाका लागि उहाँ हरेक दृष्टिकोणबाट अब्बल व्यक्तिको रुपमा रहनुभयो ।
२०७८ सालको जेठ २९ गते सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि.को राहत वितरण कार्यक्रमको लागि कालिका नगरपालिका वडा नं. १० को ‘सिद्धि छात्रावास’मा हामीसँगै पुगेका थियौं । मदनप्रसाद सापकोटा संस्थाको उपाध्यक्ष पदमा हुनुहुन्थ्यो । यात्राको दौरान हामी एउटै गाडीमा उहाँकी धर्मपत्नी सीता सापकोटा, कोषाध्यक्ष जयराम पाण्डे, व्यवस्थापक विकास पौडेल र मसँगै थियौँ । यात्रामा संस्थाका अध्यक्ष थिरप्रसाद धिताल, निवर्तमान अध्यक्ष पुरुषोत्तम गौतम, सचिव मुकुन्दप्रसाद गौतम, रामप्रसाद घिमिरे, शम्भु अधिकारी, कृष्ण सिलवाल, इन्दिरा पन्थलगायत अन्य गाडीमा थिए ।
राहत वितरणपछि हामी सिद्धि नजिकै एक होटलमा खाना खाएका थियौं । खाना पश्चात् साथीहरु सबै शक्तिखोर झरना जाने निर्णय भयो त्यसै अनुसार त्यतैतिर लागियो । यात्रारत सम्पूर्ण साथीहरुले शक्तिखोर झरनामा खेलेर आनन्द र शितलताको अनुभूत गर्यौ । जाँदा जस्तै आउँदा पनि हामी एकै गाडीमा उहाँकी धर्मपत्नी सीता सापकोटा, कोषाध्यक्ष जयराम पाण्डे, व्यवस्थापक विकास पौडेल र मसँगै क्षेत्रपुरतिर आफ्नो गन्तव्यमा फिर्ती भयौँ । मदन सरसँगको त्यही यात्रालाई अन्तिम मान्नुपर्दा यो मनले पत्याउनै सकिरहेको छैन । तर, विश्वास त मान्नैपर्ने बाध्यता भयो । मनले नचाहेर पनि उहाँसँगको यात्रामा पूर्णविराम नै लाग्यो भनेर जबरजस्ती विश्वास गर्नुपरेको छ ।
ठ्याक्कै एक महिनापछि असार २९ गते जयरामजीले मलाई शीघ्र स्वास्थ्यलाभको कामनासम्बन्धी विज्ञापन राख्नु पर्यो भनेर फोन गर्नुभयो । कसको हो भनेर सोध्दा मदन सर बिरामी हुनुहुन्छ, अवस्था गम्भीर नै छ उहाँले भन्नुभयो । म झसंग भएँ । एक महिनाअघि सँगै घुमेर रमाइलो गरेको मान्छे त्यसपछि उहाँको अवस्थाबारे म पूरै अनभिज्ञ बनेको रहेछु । हुन त एक महिना भनेको लामै समय हो । तैपनि म आफ्नै व्यस्तताका कारण मदन सरसँग मात्र नभई प्रायः सबैसँग सम्पर्कभन्दा बाहिर नै भएको थिएँ ।
कोरोना महामारी पनि सम्पर्क नहुनुको एउटा कारण बनेको थियो, जुन अहिलेसम्म पनि बनिरहेको छ । एक महिनासम्म समान्य जानकारी पनि नभइरहँदा जयरामजीले मदन दाइलाई कोरोना पोजेटिभ देखिएको जानकारी गराउनु भयो । अहिले काठमाडौंको नर्भिक अस्पतालमा उपचारारत हुनुहुन्छ भन्नुभयो । एकछिन त म स्तब्ध नै भएँ । के बोल्ने, के नबोल्ने, अक्क न बक्क भएँ । जयरामजीबाट नै भरतपुर अस्पतालमा उपचार गर्दागर्दै थप उपचारको लागि काठमाडौं लगिएको जानकारी पाएँ ।
यस बीचमा संस्थाका अध्यक्ष थिरप्रसादजीले पनि मलाई मदन सरको अस्वस्थताबारे जानकारी भएको थियो । असार ८ गते फलफूल बजार परिसरमा रहेको पुलको ढलानमा उहाँहरुसँगै हुनुहुँदो रहेछ । उनका अनुसार राति करिब ९ बजेतिर ढलानको कार्य सकेपछि आ–आफ्नो घर लाग्नुभयो । तर, मदन सरलाई त्यही रातिबाट ज्वरो आएको रहेछ । बिहानसम्म पनि ज्वरो कम नहुने र श्वासप्रश्वासमा समस्या भएपछि भरतपुर अस्पताल जानुभएको रहेछ । ४-५ दिनसम्म पनि स्वास्थ्यमा केही सुधार नभएपछि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थिरप्रसादजीबाट पनि थाहा पाइयो ।
जयरामजीका अनुसार असार २९ गते कोरोना टेष्ट गरिएको र त्यतिञ्जेलसम्म मदन सर संक्रमणमुक्त भइसक्नुभएको थियो । तर, कोरोना संक्रमण भइसकेपछिको असरले नराम्रोसँग गलाएको शरीरले धान्न सकेन । र, असार ३० गते नफर्किने बाटो जानुभयो ।
२०४२ सालदेखि अविच्छिन्नरुपमा फलफूल व्यवसायमा संलग्न सापकोटा फलफूल तथा तरकारी थोक व्यवसायी संघ चितवनको वर्तमान अध्यक्षसमेत हुनुहुन्थ्यो । सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटिडका उपाध्यक्ष, कृषि प्रबर्धन बजार विकास प्रा.लि.का सञ्चालक, चण्डीकादेवी मन्दिर गैंडाकोट–४ का आजीवन सदस्य एवम् सल्लाहकार साथै संरक्षक रही अक्षयकोष समेत खडा गर्नुभएको थियो ।
मौलाकालिका मन्दिर गैंडाकोटका आजीवन सदस्य एवम् भजन मण्डलीका सदस्य, शान्ति टोल विकास संस्था भरतपुर–२ का सदस्यलगायत थुप्रै संघसंस्थामा उहाँ विभिन्न जिम्मेवारीमा हुनुहुन्थ्यो । आज उहाँको निधनले ती सबै संघसंस्था टुहुरा भएका छन् । फलफूल तथा तरकारी थोक व्यवसायी संघले आफ्नो अभिभावक गुमायो । त्योभन्दा पनि ठूलो कुरा आज बुबाआमाको काख रित्तियो । श्रीमतीको सिउँदो पुछियो । दुई छोरा र एक छोरी टुहुरा भए । साथीभाइ सहाराविहीन जस्तै भयौँ ।
अन्तमा, जे भयो दुःखद् भयो । सोच्नै नसकिने खालको घटना भयो । अकाल्पनिक भयो । विश्वास गर्नै नसकिने खालको सत्य भयो । यो घटनाले हामी सबैले एक असल, सामाजिक, मिलनसार साथी गुमाएका छौँ । यो अपूरणीय क्षतिले हामीलाई कालान्तरसम्म बिझाइरहने छ । उहाँलाई गुमाउनु परेकोमा हामी सबै अत्यन्त मर्माहत छौँ । मदन सरलाई भगवानले स्वर्गमा बास देओस्, दिवंगत आत्माले शान्ति पाओस्, भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । परिवारमा गहिरो समवेदना प्रकट गर्दछु । बाचुञ्जेलसम्म यहाँले गर्नुभएको कर्मको मूल्यांकन पक्कै पनि हुनेछ । र, कुनै दिन तपाईँको नाम कहीँ न कहीँ सुनौला अक्षरले लेखिनेछन् । सबैका प्यारा, अलबिदा मदन सर ।