April 19, 2024

छुट्टाछुट्टै दुर्घटनामा ५ जना मृत फेला

February 25, 2023

काठमाडौं / देशभरका विभिन्न जिल्लामा गरी शुक्रबार ५ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार, काठमाडौं, धनकुटा, रौतहट र प्युठान गरी चार छुट्टाछुट्टै जिल्लामा गरी ५ जना मृत अवस्थामा फेला परेका हुन् ।
काठमाडौंको शंखरापुर नगरपालिका–६ शलम्बुटारस्थित जंगलमा गोकर्णेश्वर नगरपालिका–५ बस्ने ५५ वर्षीय पुण्यप्रसाद चौलागाई शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
यता, काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१२ कपन डेरा गरी बस्ने इलाम घर भएकी ३६ वर्षीया सरु अर्याल राई आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यस्तै, धनकुटाको महालक्ष्मी नगरपालिका–५ ज्यामिरे बस्ने ७० वर्षीय मानबहादुर बस्नेत आफ्नै घरको कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा बस्नेतको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । प्रहरीले उक्त घटनामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
त्यसैगरी, रौतहटको गौर नगरपालिका–२ स्थित सुदर्शन आँखा अस्पताल नजिक भारत घर भएका ६० वर्षीय श्याम बहादुर यादव शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै, प्युठानको ऐरावती गाउँपालिका–१ देउराली बस्ने बुद्धिराम सोमैको घरमा अर्घाखाँची ढाकावाङ घर बताउने मागी खाँदै हिँड्ने ८० वर्षीय कृष्ण खनाल शुक्रबार मृत अवस्थामा फेला परेको परेका छन् । यी सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

- ADVERTISEMENT -