यसवर्ष जेठ २८ गतेबाटै मनसुन भित्रिएको छ । मनसुनजन्य विपद्का कारण देशका विभिन्न नदीखोलाहरुमा बाढी आउने र पहिरा जाने क्रम बढिरहेको छ । यसवर्ष मनसुनको सक्रियता सुरू भएसँगै बाढीपहिराका कारण १३० जनाको मृत्यु भएको छ भने १४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार करिब चार हजार जना विस्थापित भएका छन् । नौ जना बेपत्ता भएका छन् । वर्षाका कारण दर्जनौँ स्थानमा सडक अवरोध भएका छन् । मौसम विज्ञान विभागले यसवर्ष मनसुनको समयमा १८ लाख बढी मानिस प्रभावित हुनसक्ने प्रक्षेपण गरेको छ । यस कारण विभागले मनसुनी वर्षा सुरू भएसँगै नदीखोलामा बाढी आउन सक्ने, पहिरो जान सक्ने र तराईका जिल्लाका अधिकांश नदीवरपरका बस्तीहरु डुबानमा पर्न सक्ने पूर्वानुमान गरी सतर्कता अपनाउन आग्रह गर्दै आएको छ । विपत्तिलाई कसैले पनि रोक्न नसकिए पनि त्यसको पूर्वानुमान गरेर सचेतना अपनाउने हो भनेमात्र पनि सम्भावित जनधनको क्षति कम गर्न सकिन्छ ।
मानवीय कमजोरीका विविध कारणहरुले नै विपत्ति निम्तिएका हुन हुन्छन् । वनजंगलको विनास, नदीखोलाको अस्वाभाविक दोहन, विकास र सडक खन्ने नाममा अस्वाभाविकरुपमा चलाइएका डोजरका कारण पनि बाढीपहिरो अचाक्ली गइरहेको पाइन्छ । यसबाहेक मानिसले कमजोर भूबनोट भएका ठाउँमा बस्ती बसाउँदा पनि पहिराको चपेटामा परेर मानवीय क्षति हुँदै आएको छ । विडम्बना ! प्रकृतिले बारम्बार विपद् निम्त्याउँदा पनि अझैसम्म भिरालो र कमजोर माटो भएका ठाउँमा बस्ती बस्ने क्रम जारी नै छ । यसवर्षको मनसुनजन्य विपद्को देशभर दुखद् खबर सुन्नुपरेको छ । जुनसुकै हिसाबले पनि प्रकृतिमाथि अतिक्रमण नरोकिएसम्म यस्ता प्राकृतिक विपत्तिहरुको सामना गर्नुपर्ने हुन्छ । अहिले वर्षा टरिसकेको छैन ।
- ADVERTISEMENT -

अहिले पनि देशका पूर्वदेखि पश्चिमका विभिन्न नदीमा पानीको बहावको खतरा बढ्दै गएको पाइएको छ । कन्काई, कोशी, कमला, बागमती, नारायणी, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा पानीको बहाव बढ्न गई खतराको सूचक नाघिसकेको छ । केही दिनअघि नारायणी नदीको सतह इतिहासमै पहिलोपटक ११.५२ मिटर मापन गरिएको थियो । नारायणी नदीमा ७.३ माथिको तहलाई खतराको तह मानिन्छ । मनसुनको सुरूवातमै नदीखोलाहरु खतराको तह पार गरिसकेको अवस्थामा साउनमा कस्तो स्थिति रहन्छ भन्ने अनुमान गर्न सकिँदैन । प्रकृतिलाई कसैले पनि आफ्नो वशमा राख्न सक्दैन । तर, आफू र वरपरका मानिसलाई सुरक्षित राख्न भने अवश्य सक्छ । त्यसैले समयमै सतर्कता अपनाऔँ । राज्यका निकायहरुले गर्ने पूर्वतयारी प्रकोपपछिको उद्धार र व्यवस्थापन भएकाले सबैले आआफ्नो ठाउँमा जोखिम अनुमान गरेर सुरक्षित बन्नु आवश्यक छ ।










































