April 25, 2024

रोनाल्डोको १ सय १ गोल

September 11, 2020

सोल्न / आधुनिक फुटबलका हस्ती पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट शतकीय गोलको आँकडा पार गरेका छन् । यूईएफए नेसन्स लिगअन्तर्गत मंगलबार राति स्विडेनविरुद्ध २–० को जित निकालेको खेलमा रोनाल्डोले दुई गोल गर्दै १ सय १ गोलको शतकीय आँकडा पार गरेका हुन् ।
राष्ट्रय टोलीबाट शतकीय गोल पूरा गरेपछि कप्तान रोनाल्डोले राष्ट्रिय टोलीका लागि यो ऐतिहासिक लक्ष्य पूरा गर्न पाएको गर्व लागेको बताएका छन् । ‘जब तपाईंहरू मलाई १ सय गोल पूरा गर्न सक्छौं भन्नुहुन्छ । म भन्छु कि यो पर्याप्त छैन । पोर्चुगलका लागि १०१ गोल,’ उनले भने । पोर्चुगलको समेत सर्वाधिक गोलकर्ता रहेको रोनाल्डो युरोपबाट शतकीय अन्तर्राष्ट्रिय गोल पार गर्ने पहिलो तथा विश्वकै दोस्रो खेलाडी बनेका छन् । २००३ देखि राष्ट्रिय टोलीमा रहेका ३५ वर्षीय रोनाल्डोले हालसम्म १६५ क्याप जित्दै १ सय १ अन्तर्राष्ट्रिय गोल गोलको आँकडा पार गरेका हुन् ।
रोनाल्डोभन्दा अघि एसियन राष्ट्र इरानका अली दाई १ सय ९ गोल रहेका छन् । ५१ वर्षीय अली दाइले १९९३ देखि २००६ को बीचमा १ सय ४९ खेलमा १ सय ९ गोल गर्दै कीर्तिमान बनाएका थिए । उनले २००६ मा कोस्टारिकाविरुद्ध ३–२ ले पराजित भएको मैत्रीपूर्ण खेलमा १ गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या १ सय ९ पु¥याएका थिए । अब रोनाल्डो अली दाइको कीर्तिमानी भेट्नबाट ८ गोलले मात्रै पछि छन् । उनले १८ वर्षको अवधिमा २००३ बाहेक हरेक वर्षमा निरन्तर गोल गरिरहेका छन् ।
सिनियर टोलीमा ‘डेब्यु’ र गोल
पोर्चुगलको विभिन्न उमेर समूह यू–१५, यू–१७, यू–२०, यू–२१ र यू–२३ को प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि रोनाल्डोलाई सिनियर टोलीमा राखिएको थियो । उनले उमेर समूहको विभिन्न ३४ खेलमा १८ गोल गर्दै आफूलाई प्रमाणित गरेका थिए । उमेर समूहका लगातारको उच्च प्रदर्शनपछि १८ वर्षको उमेरमा २३ अगस्ट २००३ मा काजकस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट पोर्चुगलको सिनियर राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका थिए । खेलमा पोर्चुगल १–० ले विजयी भएको थियो । सिनियर टोलीबाट ‘डेब्यु’ गरेको वर्ष दुई अन्तर्राष्ट्रिय खेलमा गोल गर्न असफल भए पनि उनले त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन । घरेलु मैदानमा आयोजना भएको युरोकपको समूह चरणमा १२ जुन २००४ मा ग्रिससँग २–१ ले पराजित भएको खेलमा इन्ज्युरी समयमा गोल गर्दै गोलको खाता खोलेका थिए । त्यसपछि उनले लगातार गोल गरिरहेका छन् ।
पहिलो ह्याट्रिक
२००३ देखि सिनियर टोलीमा लगातार स्थान बनाउँदै लगातार आफ्नो प्रभाव छाडेका रोनाल्डोले पहिलो ह्याट्रिकका लागि ११ वर्ष कुर्नुपरेको थियो । उनले २०१४ को ब्राजिलमा हुने विश्वकपको छनोट ६ सेप्टेम्बर २०१३ मा भएको खेलमा नर्दन आयरल्यान्डविरुद्ध करियरको पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक पूरा गरे । खेलमा पोर्चुगल ४–२ ले विजयी भएको थियो । पहिलो ह्याट्रिक पूरा गर्नुअघि रोनाल्डोले ४० गोल गरिसकेका थिए । उनले हालसम्म ९ अन्तर्राष्ट्रिय ह्याट्रिक पूरा गरेका छन् । नर्दन आयरल्यान्डविरुद्धको ह्याट्रिकपछि रोनाल्डोले २०१३ मै स्विडेनविरुद्ध ह्याट्रिक पूरा गरेका थिए । त्यसपछि रोनाल्डोले २०१५ मा अर्मेनिया, २०१६ मा एन्डोराविरुद्ध ह्याट्रिकसहित ४ गोल, २०१७ मा फारोई आइल्यान्ड, २०१८ मा स्पेन, २०१९ मा स्विट्जरल्यान्डविरुद्ध एक ह्याट्रिक र लिथुआनियाविरुद्ध युरोकप २०२० को छनोटको दुई खेलमा दुईपटक नै ह्याट्रिक गरेका थिए ।
४१ राष्ट्रविरुद्ध गोल
सिनियर राष्ट्रिय टोलीमा १८ वर्ष खेलिरहँदा रोनाल्डोले ४१ राष्ट्रविरुद्ध गोल गरेका छन् । सबैभन्दा धेरै लिथुआनिया र स्विडेनविरुद्ध समान ७–७ गोल गरेका छन् । लिथुआनियाविरुद्ध दुई ह्याट्रिक नै समावेश छ । लक्जेमवर्ग, एन्डोरा, अर्मेनिया र लात्भियाविरुद्ध समान ५ गोल, इस्टोनिया, फारोई आइल्यान्ड, हंगेरी र नेदरल्यान्डविरुद्ध समान ४ गोल, बेल्जियम, डेनमार्क, नर्दन आयरल्यान्ड, रसिया, स्पेन र स्विट्जरल्यान्डविरुद्ध ३ गोल, अजरबैजान, बोस्निया एन्ड हर्जगोभिना, क्यामरुन, साइप्रस, चेक रिपब्लिक, इजिप्ट, काजकस्तान र साउदी अरबविरुद्ध समान २ गोल तथा अर्जेन्टिना, क्रोएसिया, इक्वेडर, फिनल्यान्ड, घाना, ग्रिस, आइसल्यान्ड, इरान, मोरोक्को, न्युजिल्यान्ड, नर्थ कोरिया, पानमा, पोल्यान्ड, सर्विया, स्लोभाकिया, युक्रेन र वेल्सविरुद्ध समान १ गोल गरेका छन् ।
यस्तै, रोनाल्डोले युरोपका ३० राष्ट्रविरुद्ध ८७ गोल गरेका छन् । काफका ४ राष्ट्रविरुद्ध ६ गोल, एसियाका ३ राष्ट्रविरुद्ध ४ गोल, दक्षिण अमेरिकाका २ राष्ट्रविरुद्ध २ गोल, उत्तर अमेरिकी १ राष्ट्रविरुद्ध १ गोल र ओसियानाको १ राष्ट्रविरुद्ध पनि १ गोल गरेका छन् । यस्तै, रोनाल्डोले युरो छनोटको ३५ खेलमा ३१ गोल, युरोकपको २१ खेलमा ९ गोल, नेसन्स लिगको ३ खेलमा ५ गोल, फिफा विश्वकप छनोटको ३८ खेलमा ३० गोल, फिफा विश्वकपको १७ खेलमा ७ गोल र फिफा कन्फेडेरेसन कपको ४ खेलमा २ गोल तथा ४७ मैत्रीपूर्ण खेलमा १७ गोल गरेका छन् ।

–राजधानी डेलीबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -