भरतपुर । ‘कुमाता’ र ‘मोम्चो’ कथासङ्ग्रह प्रकाशित गरिसकेका वसन्तराज पराजुली आफ्नो तेस्रो कृति ‘बखान’मार्फत् पुनः पाठकमाझ उभिने भएका छन् ।
चितवनमा रहेर दुई दशकभन्दा लामो समयदेखि हालसम्म पत्रकारितामा सक्रिय रहँदै आएका पराजुलीको बखान औपन्यासिक दृष्टिमा पहिलो कृति हो । उक्त कृतिको प्रकाशक शिखा बुक्सले हालै कभर सार्वजनिक गरेको छ ।
- ADVERTISEMENT -

साउन महिनाको अन्तिमसम्ममा पाठकको हातमा आइपुग्ने तयारी भइरहेको लेखक पराजुलीले बताए । उनले तनहुँको पुलिमराङबाट चितवनको शारदानगरसम्म आउँदाका स्वर्गीय बखानसिंह गुरूङको वरिपरि कथा बुनेका छन् ।
२०१३ सालमा सहकारी संस्था स्थापना गरेका बखानसिंह र उनको परिवारमाथि त्यतिबेला राज्यपक्षबाट भएका ज्यादती, बखानसिंहले गरेका सङ्घर्षलाई समेट्ने प्रयास गरेका छन् ।
राणाशासन र पञ्चायनविरूद्धको लडाइँमा आफ्ना दुई जवान छोराहरु गुमाएका बखानसिंहले चितवनमा बस्ती विकास गरेको विषयसँगै राजा महेन्द्रको रहस्यमय मृत्यु, चितवन राष्ट्रिय निकुञ्जमा शिकार गरेको इतिहासलाई पनि उपन्यासमा मुख्य विषयवस्तु बनाएका छन् ।
मायाप्रेम, राजनैतिक उतारचढाव, सामाजिक परम्परा, गुरूङ समुदायमा प्रचलित रोधीँ परम्परा, बसाइसराइलगायतका विषयलाई लेखक पराजुलीले औपन्यासिक रूप दिएका छन् ।
समग्रमा भन्नुपर्दा कतै न कतैबाट बखानसिंह गुरूङको जीवन सङ्घर्ष उपन्यासको रूपमा पाठकले पढ्न पाउने छन् ।
२०७६ फागुनमा पहिलो कथासङ्ग्रह ‘कुमाता’ प्रकाशन गरेका पराजुलीले २०७८ मङ्सिरमा दोस्रो कथासङ्ग्रह ‘मोम्चो’ प्रकाशन गरेका थिए ।
गोरखापत्र दैनिकका चितवन सम्वाददातासमेत रहेका लेखक पराजुली हाल नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हुन् ।











































