नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजमा सोनाम ल्होछारको विशेष महत्त्व रहँदै आएको छ । तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने यो पर्व केवल पात्रो परिवर्तनको उत्सव मात्र नभई संस्कृति, पहिचान र सामाजिक एकताको प्रतीक हो । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होछारले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ आशा, ऊर्जा र सकारात्मक सोचसहित भविष्यतर्फ अघि बढ्ने सन्देश दिएको छ । सोनाम ल्होछारको उत्पत्ति तामाङ समुदायको प्राचीन परम्परा र बौद्ध दर्शनसँग गहिरो रूपमा गाँसिएको छ । तिब्बती लुनार पात्रोमा आधारित यो पर्व १२ जनावरका चक्रअनुसार मनाइने गरिन्छ । ती वर्षका नामहरू मुसा, गोरु, बाघ, खरायो, चिल, सर्प, घोडा, बाख्रा÷भेडा, बाँदर, भाले, कुकुर र सुँगुर जस्ता पशुपक्षी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ । प्रत्येक वर्ष एउटा जनावरको नामले चिनिन्छ, जसले त्यो वर्षको स्वभाव, सम्भावना र चुनौतीको सङ्केत गर्छ भन्ने विश्वास छ । यसले मानिसलाई प्रकृति, समय र कर्मबीचको सम्बन्ध बुझ्न प्रेरित गर्छ ।
यो पर्वको अवसरमा तामाङ समुदायले ल्हो (जनावर वर्ष) परिवर्तनसँगै विशेष पूजा–अर्चना, लामा गुरुहरूको आशीर्वाद, धार्मिक अनुष्ठान तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्छन् । परम्परागत भेषभूषा, स्याब्रु नृत्य, ढोल–दम्फुको ताल र सामूहिक भोजले गाउँ–सहरलाई उत्सवमय बनाउँछ । यस्ता गतिविधिले पुस्तान्तरण हुँदै आएका मौलिक संस्कृतिलाई जोगाउने मात्र होइन, नयाँ पुस्तामा पहिचानप्रति गर्वको भावना पनि जगाउँछ । सोनाम ल्होछारले समुदायभित्रको एकता सुदृढ पार्ने महŒवपूर्ण भूमिका खेल्छ । परिवार, आफन्त र छरछिमेकबीच आपसी मेलमिलाप, क्षमा र सद्भावको वातावरण सिर्जना हुन्छ । विगतका कमजोरी र दुःखलाई बिर्संदै नयाँ संकल्पका साथ अघि बढ्ने परम्परा सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउने माध्यम बनेको छ । सामुदायिकरूपमा समुदायका सबै जना एकैठाउँमा भेला भएर चाडबाड मनाउने अनि सरल अनि सभ्यरूपमा मिलनसार प्रवृत्तिको संस्कार अनि सन्देश दिने तामाङ समुदायहरू वास्तवमै एउटा अनुकरणीय समुदाय हो । आजको व्यस्त र व्यक्तिवादी हुँदै गएको समाजमा यस्ता सामूहिक पर्वको महत्त्व झनै बढेर गएको छ ।
- ADVERTISEMENT -

राष्ट्रियस्तरमा हेर्दा, सोनाम ल्होछारजस्ता पर्वहरूले नेपालको सांस्कृतिक विविधतालाई उजागर गर्छन् । राज्यले यस्ता पर्वलाई सम्मान र संरक्षण गर्नु समावेशी लोकतन्त्रको आधार हो । पछिल्ला वर्षहरूमा सोनाम ल्होछारलाई सार्वजनिक बिदाका रूपमा मान्यता दिनु सकारात्मक कदम हो । तर, यसको प्रभावकारी संरक्षणका लागि अझै प्रयास आवश्यक छ । मौलिक संस्कृतिको व्यावसायीकरण नभई मौलिकतासहित प्रवद्र्धन गर्नु आजको चुनौती हो । सोनाम ल्होछारले केवल तामाङ समुदायलाई मात्र होइन, सम्पूर्ण नेपाली समाजलाई सहअस्तित्व, सहिष्णुता र विविधताभित्रको एकताको पाठ पढाउँछ । नयाँ वर्षसँगै सकारात्मक सोच, सामाजिक सद्भाव र जिम्मेवार नागरिकत्वको भावना विकास गर्न यो पर्वले सबैलाई प्रेरणा दिन्छ । त्यसैले सोनाम ल्होछारलाई सांस्कृतिक उत्सवको रूपमा मात्र होइन, सामाजिक एकता र राष्ट्रिय पहिचान सुदृढ गर्ने अवसरका रूपमा ग्रहण गर्नु आजको आवश्यकता हो । सोनाम ल्होछारको देश विदेशमा रहने सबैलाई शुभकामना !









































