काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवं स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ नेपालमै उपचार गर्न तयार भए काठमाडौँ मेडिकल कलेजले निःशुल्क उपचार गर्ने घोषणा गरेको छ ।
काठमाडौँ मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै “राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवं राष्ट्रिय गहनाका रूपमा परिचित सावित्रा भण्डारी ‘साम्बा’ पछिल्लो सात हप्तादेखि चोटिल रहेको तथा कतारको एस्पेटर अस्पतालमा घुँडाको शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसीएल दुवैमा गम्भीर चोट लागेर पुनः शल्यक्रिया गर्नुपर्ने अवस्थाका कारण सामाजिक सञ्जालमार्फत सहयोगको आग्रह गरेकोप्रति केएमसीको गम्भीर ध्यानाकर्षण भएको” भन्दै ‘साम्बा’ नेपालमै उपचार गर्न तयार भए निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन् ।
- ADVERTISEMENT -

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवं स्टार फरवार्ड ‘साम्बा’ले सोमबार अपराह्न आफ्नो आधिकारिक फेसबुक पेजमार्फत पछिल्लोपटक एन्फा नेतृत्वको पहलमा आफ्नो सम्पूर्ण व्यवस्थापन र सहयोग पुर्याए पनि यसपटक एन्फाले उपचारमा सहयोगको प्रयास मात्रै गर्न सक्ने भन्दै एन्फा अध्यक्षले ५ लाख रुपैयाँसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैँ अगाडि बढाउन भनेपछि ‘साम्बा’ले सामाजिक सञ्जालमार्फत आफ्नो उपचारका लागि ८० हजार हाराहारी अमेरिकी डलर खर्च हुने भन्दै सहयोगको अपिल गरेकी थिइन् ।
सामाजिक सञ्जालमार्फत ‘साम्बा’ले अपिल गरेको केही घण्टामै काठमाडौँ मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत दाहालले आर्थिक अभावकै कारण राष्ट्रका गहनाले अत्यावश्यक स्वास्थ्य उपचार नपाउनु दुःखद भएको टिप्पणी गर्दै काठमाडौँ मेडिकल कलेजमा ‘साम्बा’को घुँडाको जटिल शल्यक्रिया र ग्राफ्ट तथा एमसीएलको उपचार सम्भव रहेको उल्लेख गरे । राष्ट्रका गहनाको चित्कारले आफूलाई विचलित बनाएको भन्दै उनले निःशुल्क उपचारको घोषणा गरेका हुन् ।
काठमाडौँ मेडिकल कलेज नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. सुनील शर्माको प्रमुख स्वामित्वमा रहेको संस्था हो । डा. शर्माले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै बिरामीहरूको नोबेल मेडिकल कलेज अथवा काठमाडौँ मेडिकल कलेजमा निःशुल्क उपचार गर्दै आएका छन् । डा. शर्माले नेपाली क्रिकेट टोलीलाई हालै २० लाख रुपैयाँ र यसअघि पनि २० लाख गरी जम्मा ४० लाख रुपैयाँ हस्तान्तरण गर्नुका साथै खेलाडीहरूको निःशुल्क उपचारको पनि घोषणा गरेका थिए ।
नेपाली राष्ट्रिय महिला टिमकै सबैभन्दा अब्बल र सफल फरवार्डका रूपमा आफूलाई दर्ज गरेकी ‘साम्बा’ले आफ्नो स्वास्थ्य उपचारका लागि आफूले अभिभावक मानेको एन्फालाई आग्रह गर्दा क्लबका लागि खेल्दा चोट लागेको तर्क आएपछि आफू निराश भएको उल्लेख गरेकी छिन् । यसबीचमा आफ्ना प्रतिनिधिमार्फत सरकारसँग समेत पहल गरे पनि सरकारी प्रक्रिया अपेक्षाअनुसार अगाडि नबढेकोमा असन्तुष्टि व्यक्त गर्दै उनले सहयोगको अपिल गरेकी थिइन् । उनले चोटमुक्त भएपछि देशका लागि शतप्रतिशत दिने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान जसले युरोप पुगेर देशको फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराइन्, उनको उपचारमा नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल सरकारले देखाएको उदासीनतालाई चुनौती दिँदै केएमसीले देखाएको उदारता र सहयोगको यतिबेला सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ ।










































