– बबिलाल तामाङ
चितवन । भरतपुर–११ स्थित श्री हिमालयन आधारभूत राष्ट्रिय विद्यालयले जनआन्दोलन ०६२/०६३ का घाइते सूर्यप्रसाद श्रेष्ठ लगायत विभिन्न संघ संस्थाहरुलाई सम्मान गरेको छ ।
लोकतन्त्र दिवसको अवसर पारेर ‘शैक्षिक एवम् वातावरण सम्बन्धी जागरण २०८३ कार्यक्रम’मा शुक्रबार सम्मान–पत्र तथा दोसल्ला ओढाएर श्रेष्ठ लगायतलाई सम्मान गरिएको विद्यालयका प्राचार्य डिल्लीरमण तिवारी जानकारी दिए ।
- ADVERTISEMENT -

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ भण्डारी, प्राचार्य तिवारी लगायतले संयुक्त रुपमा सम्मान गरेका हुन् ।
सम्मानित श्रेष्ठले विद्यालय स्तरोन्नतिका लागि विभिन्न समयमा शैक्षिक सामग्री, पोशाकलगायत सहयोग गरेको थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष कमल मल्ल प्रमुख अतिथि रहेका थिए भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा वक्ताहरुले स्कुलको स्तरोन्नतिका लागि सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने धारणामा जोड दिए ।
कार्यक्रममा नवजागृति सामुदायिक वनका अध्यक्ष नारायण केसी, शुभलक्ष्मी टोल विकास संस्थाका अध्यक्ष खडगबहादुर थापा, भरतपुर टाउन टोल विकास संस्थाका अध्यक्ष गायत्री श्रेष्ठ, मुक्तिनगर टोल विकास संस्थाका अध्यक्ष देवी कार्की, निलगिरी जागृति टोल विकास संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठलगायतको उपस्थिति थियो ।
कार्यक्रम पूर्व विद्यालय प्राङ्गणबाट सुरु भएको प्रभातफेरि पोखरेली चोक, नहर चोक, वडा नं. ११ को कार्यालय, वाइपासरोड, मालपोतचोकहुँदै पुनः विद्यालयमै समापन गरिएको थियो ।
प्रभातफेरिमा शिक्षक–शिक्षिका, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विद्यार्थीहरु सहभागी थिए ।








































