भरतपुर / चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएपछि स्थानीय समुदाय र चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबीच आइतबार चार बुँदे सहमति भएको छ ।
नयाँ गोरखा गण, वडा नं. २३ कार्यालय, केरुङ्गा मध्यवर्ती उपभोक्ता समिति, नेपाल प्रहरी इलाका कार्यालय गीतानगर तथा बेलहट्टा हरियाली मध्यवर्ती सामुदायिक उपभोक्ता समितिका प्रतिनिधिहरूको उपस्थितिमा भएको छलफलपछि दुवै पक्षबीच सहमति जुटेको दराई समाज चितवनका अध्यक्ष रेशम दराईले न्यूजप्रवाह डटकमलाई जानकारी दिए ।
- ADVERTISEMENT -

सहमतिअनुसार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले समस्याग्रस्त हात्तीलाई तत्काल नियन्त्रणमा लिन आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । त्यसैगरी, हात्तीको आक्रमणमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रचलित व्यवस्था अनुसार तत्काल उचित राहत उपलब्ध गराइने सहमति भएको छ ।
यस्तै, निकुञ्ज कार्यालयमार्फत मृतकको परिवारका लागि घर निर्माण गरिने र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आवश्यक कार्यक्रम तथा सुरक्षाका उपाय तत्काल कार्यान्वयन गर्ने सहमति पनि भएको छ ।
- ADVERTISEMENT -

हात्तीको आक्रमणपछि स्थानीयवासीले सुरक्षाको माग गर्दै निकुञ्ज प्रशासनसँग तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका थिए । त्यसपछि सरोकारवाला निकाय र स्थानीय समुदायबीच भएको छलफलबाट चार बुँदे सहमति भएको हो ।
निकुञ्ज प्रशासनले सहमतिअनुसारका निर्णय कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएको छ भने स्थानीय समुदायले पनि सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित गर्ने जनाएका छन् ।
शनिबार राति करिब ११ बजे पूर्ण बोटेको घरमा जंगली हात्ती प्रवेश गरी घरभित्र सुतिरहेका उनकी २५ वर्षीया श्रीमती आशिका बोटे र ४ वर्षीय छोरा भरत बोटेमाथि आक्रमण गरेको थियो । आक्रमणबाट दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

















































