भरतपुर / चितवनमा भेटिएका पहिचान नखुलेका तथा बेवारिसे शवलाई देवघाटमा जमिनमुनि व्यवस्थापन गरिने भएको छ । शवबाट डिएनए परीक्षणका लागि आवश्यक नमुना संकलन गरेपछि शनिबारदेखि नै शव गाड्ने प्रक्रिया सुरु गरिने प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् ।
रसुवामा आएको बाढीपछि बगाएर चितवनसम्म आइपुगेका शवको संख्या बढ्दै गएपछि व्यवस्थापनमा चुनौती देखिएको हो । लामो समयसम्म शव राख्दा सड्ने र दुर्गन्ध फैलिने जोखिम बढेपछि जिल्ला सुरक्षा समितिको बैठकले ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन पहिलो संशोधन, निर्देशिका–२०८३’ अनुसार शवलाई जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
- ADVERTISEMENT -

चितवन प्रशासनका अनुसार शवको डिएनए नमुना संकलन गरी प्रत्येक शवलाई संकेत नम्बरमार्फत अभिलेखमा राखिनेछ । त्यसपछि भरतपुर महानगरपालिका–१ स्थित देवघाटको खुला स्थानमा शव व्यवस्थापन गरिनेछ । विषम परिस्थितिमा गरिएको उक्त निर्णयलाई सकारात्मक रूपमा लिएर आवश्यक सहयोग, समन्वय तथा सूचना सम्प्रेषण गरिदिन प्रशासनले आग्रह गरेको छ ।
गत भदौ १० गते रसुवामा आएको बाढीका कारण हालसम्म चितवनमा २३३ वटा शव फेला परेका छन् । तीमध्ये चारवटा शवको मात्रै सनाखत भएको छ भने बाँकी २२९ शव अस्पताल तथा होल्डिङ सेन्टरमा राखिएका छन् ।
चितवन उद्योग संघसँग जोडिएको औद्योगिक प्रतिष्ठानमा राखिएका ८० वटा शवको डिएनए नमुना संकलन भइसकेको छ । पहिलो चरणमा ती शवलाई देवघाटमा व्यवस्थापन गरिनेछ ।
हाल ७ जना फरेन्सिक चिकित्सक र ७ जना दन्त चिकित्सकसहित ४० जनाको टोली डिएनए नमुना संकलनमा खटिएको छ । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, भेरी अस्पताल, लुम्बिनी मेडिकल कलेज तथा काठमाडौंस्थित नेपाल मेडिकल कलेजका फरेन्सिक चिकित्सकहरू नमुना संकलनमा संलग्न छन् ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार अस्थायी शव केन्द्रमा राखिएका सबै शवको डिएनए नमुना संकलन भइसकेको छ । पहिलो चरणमा सोही केन्द्रमा रहेका शवलाई देवघाटमा व्यवस्थापन गरिनेछ ।
अस्पतालको शवगृहमा रहेका शवको डिएनए परीक्षण पनि जारी रहेकाले नमुना संकलनपछि ती शवलाई समेत सिधै देवघाट पठाउने तयारी गरिएको डा. बगालेले जानकारी दिए ।
















































