चितवन / चेपाङ समुदायले यस वर्ष आफ्नो महान पर्व न्वागी छोनाम औपचारिक रूपमा नमनाउने भएको छ ।
नेपाल चेपाङ संघका केन्द्रीय सदस्य दिपक प्रजाले न्वागी छोनाम पर्वका अवसरमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना नगर्ने जानकारी दिए ।
- ADVERTISEMENT -

चेपाङ समुदायले आफ्नो मौलिक कला, संस्कृति, भेषभूषा, रहनसहन, परम्परा तथा रीतिरिवाजको संरक्षण गर्दै भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले हरेक वर्ष भाद्र २२ गते न्वागी छोनाम पर्व विभिन्न कार्यक्रमसहित मनाउँदै आएको छ ।
यही भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षति तथा कैयौँ मानिस बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै यस वर्ष औपचारिक कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको प्रजाले बताए ।
नेपाल चेपाङ संघले बाढी तथा विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
संघले देश तथा विदेशमा रहेका सम्पूर्ण चेपाङ समुदाय, शुभेच्छुक तथा सरोकारवालालाई यस वर्ष न्वागी छोनाम पर्वका अवसरमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना नगर्न तथा विपद्का कारण पीडित बनेका परिवारप्रति ऐक्यबद्धता जनाउन आग्रह गरेको छ ।
चेपाङ समुदायका लागि न्वागी छोनाम केवल पर्व मात्र नभई उनीहरूको मौलिक पहिचान, संस्कृति र परम्परासँग जोडिएको महत्वपूर्ण सांस्कृतिक उत्सव हो । विपद्को पीडामा रहेका समुदायप्रति ऐक्यबद्धता जनाउँदै यस वर्षको औपचारिक कार्यक्रम स्थगित गर्ने संघको निर्णय हो ।
















































