चितवन / भरतपुरस्थित अङ्कुरम् एकेडेमीमा सञ्चालित त्रिदिवसीय अङ्कुरम्–मोडल युनाइटेड नेसन्स’को तेस्रो संस्करण सोमबार विभिन्न छवटा सङ्कल्प पारित गर्दै सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघका छवटा कमिटीमा अध्ययन, अनुसन्धान र छलफलपछि ती सङ्कल्प पारित भएका हुन् ।
कार्यक्रम समापनलाई सम्बोधन गर्दै प्रमुखअतिथि तथा भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले भोलिका नेतृत्वदायी नागरिक उत्पादन गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । उनले स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण र जलवायु परिवर्तनजस्ता समय सान्दर्भिक विषय समेटेर लगातार तीन वर्षदेखि गरिएको तीनवटै संकरण फलदायी भएको बताए ।
- ADVERTISEMENT -

संयुक्त राष्ट्रसंघीय वातारण कार्यक्रम ९युएनइपी०अन्तर्गत ‘सुरक्षित भविष्यका लागि जलवायु उत्थानशीलता’, विश्व स्वास्थ्य सङ्गठनअन्तर्गत ‘वाधाविहीन स्वास्थ्यसेवाको पहुँच’, संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्अन्तर्गत ‘सुरक्षित वर्तमान ः स्थिर भविष्य’, मानवअधिकार परिषद्अन्तर्गत ‘सुरक्षित भविष्यका लागि नागरिक गरिमा’ विषयहरू समेटिएका थिए । मानवअधिकार परिषद्ले अनगानिस्तानमा भइरहेको नीतिगत हिंसा तथा मानवअधिकार उल्लङ्घनको विषयमा केन्द्रित रहेको थियो ।
त्यस्तै, संयुक्त राष्ट्रसंघीय बालकोषअन्तर्गत ‘कृत्रिम बुद्धिमत्ताको युगमा अनलाइन शोषणविरुद्ध विश्वव्यापी बाल संरक्षण संयन्त्रलाई सुदृढ बनाउने, युनेस्कोअन्तर्गत ‘वाधाविहीन शिक्षा प्राप्ति’को विषयलाई प्राथमिकताका साथ उठाइएको छ । जसअन्तर्गत ‘द्वन्द्व र संकटमा उदीयमान प्रविधिमार्फत शिक्षाको अधिकारको सुरक्षा गर्ने विषयहरू उठान गरिएको छ ।
कुन समितिबाट कुन एजेन्डा भयो पारित रु
त्रिदिवसीय कार्यक्रममा विभिन्न देशका प्रतिनिधिहरूले विविध विषयको प्रतिनिधित्व गरेका थिए । छवटा समितिमध्ये संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले ‘उदीयमान रणनीतिक क्षेत्रहरूमा महत्वपूर्ण पूर्वाधारको सुरक्षाः अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा रहेका खतराहरूको सम्बोधन’ विषयक सङकल्प पारित भएको छ । जसअनुसार विभिन्न प्रभावकारी उपायहरूसँगै, यस प्रस्तावले सैन्य, साइबर र अन्य उदीयमान प्राविधिक खतराहरूका सबै प्रकारबाट महत्वपूर्ण नागरिक पूर्वाधारहरूको सुरक्षालाई सुदृढ गर्ने, साइबर घटना प्रमाणीकरण संयन्त्रसहित राष्ट्रिय तथा क्षेत्रीय ’महत्वपूर्ण पूर्वाधार सुरक्षा ढाँचाहरू’ स्थापना गर्ने परिकल्पना गरिएको छ ।
त्यस्तै, संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमअन्तर्गत ‘एल निनो’ र ‘ला निनो’सँग सम्बन्धित चरम मौसमी घटनाविरुद्ध विश्वव्यापी जलवायु उत्थानशीलता सुदृढ गर्ने कार्यसूचीलाई सम्बोधन गर्ने सङ्कल्प पारित गरिएको छ । एमुन च्याप्टर ३।० का महासचिव प्रमोद थपलियाले ‘वर्षा, पानीको उपलब्धता, बाढी, खडेरी, कृषि तथा जोखिममा रहेका समुदायहरूमा ‘एल निनो’ र ‘ला निनो’को बारम्बार पर्ने प्रभावहरूलाई स्वीकार गर्दै मौसमसम्बन्धी निगरानी, पूर्व–सूचना प्रणाली, प्राविधिक सहयोग र क्षमता अभिवृद्धिमा जोड दिने सङ्कल्प पारित गरिएको बताए ।
त्यस्तै, संयुक्त राष्ट्रसंघको अर्को संगठन युनेस्कोअन्तर्गत ‘उदीयमान प्रविधिहरूका माध्यमबाट द्वन्द्व र सङ्कटको अवस्थामा शिक्षाको अधिकारको संरक्षण’ गर्ने सङ्कल्प पारित भएको उपमहासचिव रीताकुमारी उपाध्यायले जानकारी दिइन् । यसअन्तर्गत सशस्त्र द्वन्द्व र सङ्कटका कारण शिक्षामा पर्ने अवरोधलाई स्वीकार गर्दै, शिक्षाको निरन्तरता कायम राख्न तथा गुणस्तरीय शिक्षामा पहुँच सुदृढ गर्न उदीयमान प्रविधिहरूको सम्भावनालाई आत्मसात गरिएको उनले जानकारी दिइन् ।
त्यस्तै, संयुक्त राष्ट्रसंघीय बाल कोषअन्तर्गत कृत्रिम बुद्धिमत्ता ९एआई०को युगमा अनलाइन शोषण विरुद्ध विश्वव्यापी बाल संरक्षण संयन्त्रहरूलाई सुदृढ पार्ने सङ्कल्प पारित भएको छ । यो प्रस्तावले विशेष गरी विकासोन्मुख राष्ट्रहरूका लागि ‘सेफ्टी–बाइ–डिजाइन’ उपायहरू, डिजिटल वाटरमार्किङ, एआई पहिचान उपकरणहरू, डिजिटल प्रमाण आदान–प्रदानमा सुधार र क्षेत्रीय एआई साइबर–फरेन्सिक क्षमता अभिवृद्धिमार्फत एआईसिर्जित शोषणविरुद्ध बाल संरक्षणलाई सुदृढ पार्नमा केन्द्रित हुने बताइएको छ ।
त्यसैगरी, विश्व स्वास्थ्य संगठनअन्तर्गतको ‘चिकित्सासम्बन्धी नवीन आविष्कारहरूमा असमान पहुँचका कारण सिर्जित विश्वव्यापी स्वास्थ्य असमानताहरूको रोकथाम’ विषयक कार्यसूचीमा अध्ययन, अनुसन्धान र छलफल गरी खोप, रोग निदान विधि, उपचार पद्धति, चिकित्सा उपकरण र अन्य अत्यावश्यक स्वास्थ्य प्रविधिहरूमा पहुँचसम्बन्धी विद्यमान असमानताहरूलाई सम्बोधन गरी विशेषतः यस्ता असमानताले विकासोन्मुख देशहरू, ग्रामीण समुदायहरू र जोखिममा रहेका जनसमुदायलाई प्रभावित पार्ने तथ्यमाथि जोड दिइएको छ । यस्ता असमानताविरुद्ध अन्तर्राष्ट्रिय सहयोग, किफायती चिकित्सा प्रविधिहरूमा समान पहुँच, प्रविधि हस्तान्तरण, क्षेत्रीय उत्पादन, सुदृढ स्वास्थ्य पूर्वाधारलगायतका विषयमा गहन छलफल गरी पारित गरिएको छ ।
त्यसैगरी संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्अन्तर्गत ‘अफगानिस्तानमा व्याप्त प्रणालीगत हिंसा र मानव अधिकार उल्लङ्घनको सम्बोधन’ विषयमा छलफल भएको थियो । प्रभावित तथा जोखिममा रहेका जनसमुदायको संरक्षणका लागि मौलिक अधिकारको रक्षा, जवाफदेहिताको सुनिश्चितता र अन्तर्राष्ट्रिय सहयोग सुदृढीकरणको महत्त्वबारे समितिमा छलफल गरिएको बताइएको छ ।
कार्यक्रमका सल्लाहकार एवं विद्यालयका प्रधानाध्यापक सुमन पौडेलले ‘एएमयूएन’ विद्यार्थीको प्रतिभा प्रस्फुटन, नेतृत्व विकास र कूटनीतिक सीप अभिवृद्धिको प्रभावकारी मञ्च भएको बताए । उनका अनुसार कार्यक्रमले सहभागीलाई विश्वव्यापी समस्याबारे बुझ्न, तिनका कारण पहिचान गर्न र सम्भावित समाधान प्रस्तुत गर्न अवसर दिन्छ । ‘एएमयूएनले विद्यार्थीलाई आफ्नो विचार आत्मविश्वासका साथ प्रस्तुत गर्न र प्रतिभा प्रदर्शन गर्न प्रेरित गर्छ,’ उनले भने ।
कार्यक्रमका महासचिव सहप्राचार्य प्रमोद थपलियाले भविष्यका नेतृत्व उत्पादन गर्न सहयोग गर्ने यो कार्यक्रममार्फत सहभागीहरुले सामाजिकीकरणको महत्त्व बोध गरेको, ‘डिवेट’ गर्ने कला सिकेको र सहभागीहरुमा समालोचनात्मक चिन्तनको विकास भएको र सहभागीहरुमा कुटनीतिक सीपको विकास भएको बताए ।
कार्यक्रममा चितवन, नवलपरासी र काठमाडौँका विद्यालयहरूबाट २१६ जना विद्यार्थीहरूको सहभागिता रहेको र सहभागी विद्यार्थीहरूले विश्वव्यापी समस्याका बारेमा आफूहरूले गरेको अनुसन्धानका आधारमा सामूहिक छलफलमार्फत समाधनसमेत सुझाएको उपमहासचिव उपाध्यायले जानकारी दिइन् । विद्यालयका आवासीय निर्देशक नईम चौधरीले स्वागत गरेको समापन कार्यक्रमको सञ्चालन तेजस्वी पन्त, ओजस्वी न्यूरे र अनुष्का भण्डारीले गरेका थिए ।


















































