एजेन्सी / अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मङ्गलबार राष्ट्रिय टोलीबाट भावुक बिदाइ लिएका छन् । ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५ हजार समर्थकमाझ बेनिनलाई ३–० ले पराजित गर्दै उनले २१ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल यात्राको अन्त्य गरेका हुन् ।
३९ वर्षीय मेस्सीले आफ्नो कीर्तिमानी २०८औँ अन्तर्राष्ट्रिय खेलमा १२६औँ गोल गर्दै बिदाइलाई अविस्मरणीय बनाए । उनले निकोलस ओटामेन्डीको पहिलो गोलका लागि सहयोग गरे भने निको पाजले अर्को गोल गरे । मेस्सीले खेलको ७१औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।
- ADVERTISEMENT -

खेलको परिणामभन्दा मेस्सीको बिदाइ नै मुख्य आकर्षण बन्यो । ‘द लास्ट ट्याङ्गो’ नाम दिइएको कार्यक्रममा उनले समर्थकको माया र सम्मान ग्रहण गरे । खेलपछि सम्बोधन गर्दै उनले २० वर्षभन्दा बढी समय अर्जेन्टिनाको जर्सी लगाएर खेल्न पाउनु आफ्नो जीवनका लागि ठूलो गौरव भएको बताए ।
“म जीवनभर खेलिरहन चाहन्छु, तर मलाई लाग्छ अब यो क्षण आएको छ । राष्ट्रिय टोलीका लागि खेल्नु आफूले पाउन सक्ने सबैभन्दा सुन्दर कुरा हो”, उनले भने ।
- ADVERTISEMENT -

स्टेडियमतर्फ मेस्सी र उनका टोली साथीहरू सवार बस अघि बढ्दा समर्थकको ठूलो भीडले स्वागत गरेको थियो । त्यस क्रममा उनले भावुक हुँदै आँसु झारेका थिए । उनका आफ्ना तीन सन्तानसँगै मैदानमा प्रवेश गरे भने पत्नी एन्टोनेला रोकुजो र आमा सेलिया कुसिट्टिनीले भिआइपी कक्षबाट उनलाई हात हल्लाउँदै स्वागत गरे ।
खेल सुरु हुनुअघि मैदानमा मेस्सीको १० नम्बरको जर्सीमाथि ‘ग्रेसियस’ अर्थात् ‘धन्यवाद’ लेखिएको विशाल अर्जेन्टिनी जर्सी राखिएको थियो । खेलको १०औँ मिनेटमा उनको जर्सी नम्बरप्रति सम्मान प्रकट गर्दै खेल केही समय रोकिएको थियो र समर्थकले एक मिनेट लामो ताली बजाएका थिए । अन्तिम सिठ्ठीपछि ड्रोनमार्फत आकाशमा मेस्सीको तस्बिर देखाउँदै उनलाई धन्यवाद दिइएको थियो ।
मङ्गलबारको खेलअघि ब्युनस आयर्स विश्वविद्यालयले मेस्सीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो । एएफएको मुख्यालयबाहिर समर्थकले उनको तस्बिरसहित ‘मेरो जीवनको आनन्द’ लेखिएको विशाल अर्जेन्टिनी झण्डा फहराएका थिए । बार्सिलोनाका पूर्व टोली साथी नेयमारले पनि सामाजिक सञ्जालमार्फत मेस्सीले फुटबलका लागि गरेको योगदानप्रति धन्यवाद दिएका थिए ।
अन्तर्राष्ट्रिय फुटबलबाट मेस्सीको बिदाइ अर्जेन्टिनालाई २०२२ को विश्वकप जिताएर ३६ वर्ष लामो उपाधि खडेरी अन्त्य गरेको चार वर्षपछि भएको हो । उनको नेतृत्वमा अर्जेन्टिनाले सन् २०२१ र २०२४ मा कोपा अमेरिका उपाधिसमेत जितेको थियो । अर्जेन्टिना सन् २०१४ र २०२६ को विश्वकपमा उपविजेता बनेको थियो ।
मेस्सी सन् २०२८ सम्म इन्टर मियामीसँग अनुबन्धमा छन् । यद्यपि, दुई महिनाअघि आफ्ना बुबा जोर्जको निधनपछि उनले अपेक्षा गरिएभन्दा चाँडै फुटबलबाट बिदा लिन सक्ने सङ्केत गरेका थिए ।
समर्थक सिसिलिया एड्रियानोले मेस्सीले राष्ट्रिय टोलीका लागि आफ्नो तर्फबाट सबै कुरा दिएको बताउँदै अब उनले आफ्नो जीवनको आनन्द लिन र आराम गर्न पाउनुपर्ने प्रतिक्रिया दिए ।

















































