एजेन्सी / पोर्चुगल फुटबल महासंघ (एफपीएफ) ले राष्ट्रिय टोलीको क्याम्प छाडेको घटनामा कप्तान क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको निलम्बन र २५५ युरो जरिवाना गरेको छ ।
४१ वर्षीय रोनाल्डोले गत सेप्टेम्बरमा पोर्चुगलको नेसन्स लिग टोली छाडेका थिए । नर्वेविरुद्धको खेलमा बेन्चमा बसेका उनले अक्टोबर १ मा डेनमार्कविरुद्धको खेलमा पनि सुरुआती ११ मा नपर्ने थाहा पाएपछि टोली छाडेको विवरणमा उल्लेख छ ।
रोनाल्डोले यसअघि लामो वक्तव्य जारी गर्दै पोर्चुगलका प्रशिक्षक जर्ज जेससले दुई पटक आफ्नो वाचा तोडेको र आफूले उनीप्रतिको विश्वास पूर्ण रूपमा गुमाएको बताएका थिए । उनले आफ्नो गल्तीको जिम्मेवारी लिँदै टोलीका साथी तथा समर्थकसँग माफी माग्नुका साथै सजाय स्वीकार गर्ने बताएका थिए ।
डेनमार्कविरुद्धको खेलकै दिनदेखि निलम्बन लागू हुने भएकाले रोनाल्डोले १९ दिनको सजाय यसअघि नै भुक्तान गरिसकेको विवरणमा उल्लेख छ । त्यसैले बाँकी सजायका कारण उनले पोर्चुगलका आगामी कुनै पनि खेल गुमाउनुपर्ने छैन ।
- ADVERTISEMENT -

पोर्चुगलले नोभेम्बर १४ मा नेसन्स लिगअन्तर्गत डेनमार्कसँग खेल्नेछ भने त्यसको तीन दिनपछि वेल्ससँग प्रतिस्पर्धा गर्नेछ ।
एफपीएफको अनुशासन समितिले सजाय निर्धारण गर्दा रोनाल्डोले आफ्नो वक्तव्यमा व्यक्त गरेको पश्चात्ताप, फुटबलमा पुर्याएको योगदान र खेल उपलब्धिका लागि प्राप्त सम्मानलाई ध्यानमा राखेको जनाएको छ । समितिका अनुसार रोनाल्डोले आफ्नो बचाउका क्रममा व्यक्तिगत विवरण, पुरस्कार तथा उपलब्धि समेटिएको बायोडाटासमेत पेस गरेका थिए ।
पोर्चुगलका प्रशिक्षक जेससले भने रोनाल्डोसँग कुनै सहमति नगरेको बताएका छन् । यद्यपि, उनले रोनाल्डोका लागि राष्ट्रिय टोलीमा पुनरागमनको ढोका खुला रहेको संकेत गरेका छन् ।
पोर्चुगल फुटबल महासंघका अध्यक्ष पेड्रो प्रोएन्साले पोर्चुगिज सञ्चारमाध्यम ‘रेकर्ड’सँग कुरा गर्दै विवाद समाधान भएपछि रोनाल्डोलाई राष्ट्रिय टोलीमा फर्काउने आफ्नो बलियो चाहना रहेको बताएका छन् ।
पाँच पटक बालोन डी’ओर जितेका रोनाल्डोले पोर्चुगलका लागि २३४ खेलमा १४६ गोल गरेका छन् । पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसमेत उनको नाममा रहेको छ । उनको नेतृत्वमा पोर्चुगलले सन् २०१६ को युरोकप र नेसन्स लिगका दुई उपाधि जितेको थियो ।
रोनाल्डो सन् २०२२ को डिसेम्बरमा साउदी अरबको क्लब अल नासरमा आबद्ध भएका थिए । त्यतिबेला उनको वार्षिक पारिश्रमिक १७ करोड ७० लाख पाउन्ड रहेको बताइएको थियो । उनले गत वर्ष क्लबसँग आफ्नो सम्झौता नवीकरण गरेका थिए ।















































