सर्लाही / पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जंगलमा ट्रक र ईभी गाडी एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन्। शनिबार भएको दुर्घटनामा ईभीमा सवार यात्रुहरू घाइते भएका हुन्।
प्रहरीका अनुसार सर्लाहीबाट बर्दिबासतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ००५७ नम्बरको ईभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००२ ख १३२४ नम्बरको ट्रक आपसमा ठोक्किएका थिए।
दुर्घटनामा बाराको महागढीमाई नगरपालिका–६ का ४१ वर्षीय कामेश्वर सहनी, वडा नम्बर ९ का ४८ वर्षीय राजेन्द्र राम, सुवर्ण गाउँपालिका–४ का ३७ वर्षीय रञ्जित राम, ४५ वर्षीय भवन राम, ४० वर्षीय रामदेव राम, ४० वर्षीय विनोद राम र ४७ वर्षीय रुदल राम तथा सुवर्ण गाउँपालिका–७ का ६३ वर्षीय हरिहर राम घाइते भएका छन्।
त्यसैगरी कलैया उपमहानगरपालिका–२६ का ३७ वर्षीय नन्दन राम र उमेश राम, पचरौता नगरपालिका–७ का ५५ वर्षीय राम सन्देश राम तथा सिम्रौनगढ नगरपालिका–४ का ४० वर्षीय नवलकिशोर राम पनि घाइते भएका छन्।
- ADVERTISEMENT -

घाइतेमध्ये सुवर्ण गाउँपालिका–४ का ३७ वर्षीय रञ्जित रामको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई थप उपचारका लागि कलैयास्थित एलएस न्युरो अस्पताल पठाइएको छ।
अन्य घाइतेहरूको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए।
दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई प्रहरी चौकी फूलजोरमा राखिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए।
















































