काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनतर्फ ३४ दशमलव नौ प्रतिशत भौतिक प्रगति हासिल भएको विवरण सार्वजनिक गरेको छ ।
नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाअन्तर्गतका कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु पाँच अर्ब २० करोड ९० लाख बजेट विनियोजन गरिएको थियो । पहिलो त्रैमासिक अवधिमा रु ६२ करोड ७४ लाख खर्च गर्ने लक्ष्य रहेकामा रु १४ करोड ७० लाख खर्च भएको छ । यो त्रैमासिक बजेटको २३ दशमलव चार प्रतिशत हो ।
महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार पहिलो त्रैमासमा दुई दशमलव नौ किलोमिटर तटबन्ध निर्माण तथा एक हेक्टर जग्गा उकास गरिएको छ । सो अवधिमा खर्चको तुलनामा भौतिक प्रगति भने बढी देखिएको छ । केही आयोजनाले त्रैमासिक भौतिक लक्ष्यभन्दा उल्लेखनीय प्रगति हासिल गरेका छन् ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुर ९चितवन०ले त्रैमासिक भौतिक लक्ष्यको १६० दशमलव आठ प्रतिशत प्रगति गरेको महाशाखाका प्रमुख थापाले जानकारी दिए । उनका अनुसार समग्रमा पहिलो त्रैमासमा नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनतर्फ ३४ दशमलव नौ प्रतिशत भौतिक प्रगति भएको हो ।
- ADVERTISEMENT -

त्यस्तै, टार–बजार संरक्षण कार्यक्रमले लक्ष्यको १०८ प्रतिशत प्रगति हासिल गरेको छ । लमही ९दाङ०ले ८६ दशमलव पाँच प्रतिशत, कञ्चनपुरले ८२ दशमलव पाँच प्रतिशत र जनकपुर ९धनुषा० ले ८२ दशमलव तीन प्रतिशत भौतिक प्रगति गरेको महाशाखाले जनाएको छ ।
नदी नियन्त्रण, तटबन्ध निर्माण तथा जल उत्पन्न विपद्बाट जोखिममा रहेका बस्ती र खेतीयोग्य जमिनको संरक्षणका लागि महाशाखाले विभिन्न आयोजना सञ्चालन गर्दै आएको जानाइएको छ ।














































